कोरोना भइसकेपछि त्यसको उपचार गर्ने फाइजरको औषधिले अमेरिकामा स्वीकृति पायो

डिसी नेपाल
८ पुष २०७८ १६:४४
216
Shares

काठमाडौं। कोरोना संक्रमण भइसकेपछि त्यसको उपचारमा प्रयोग हुने औषधिले अमेरिकामा स्वीकृति पाएको छ । फाइजर कम्पनीले विमास गरेको यो गोली (ट्याब्लेट) औषधिलाई अमेरिकाको औषधि नियामक फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले घरेलु प्रयोगको लागि स्वीकृति दिएको हो । औषधि विकास गर्ने कम्पनी फाइजरले यो औषधि कोरोना बिरामीका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको बताएको छ ।

फाइजरले बुधबार अमेरिकाको नियामक एफडिएले एन्टिभाइरल ट्याब्लेटलाई स्वीकृति दिएको जनाएको छ । यससँगै यो कोरोनाभाइरसको पहिलो घरेलु उपचार बनेको छ । अर्थात, यो औषधि अस्पतालमा डाक्टरको निगरानीमा मात्र नभइ बिरामीले घरमै लिएर गएर डाक्टरको सल्लाहअनुसार सेवन गर्न सक्नेछन् । यो औषधिले भाइरसलाई छिटो फैलिनबाट समेत रोक्ने दावी गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार फाइनरको क्लिनिकल ट्रायलमा थाहा भएअनुसार फाइजरको एन्टिभाइरल औषधि रेजिमेन गम्भीर बिरामीहरुमा प्रभावकारी थियो । यो अस्पतालमा भर्ना हुनुपर्ने र मृत्यु हुने जोखिम रोक्न ९० प्रतिशत प्रभावकारी देखिएको थियो । अहिले प्रयोगशालामा गरिएको परीक्षणमा यो औषधि ओमिक्रोन भेरिएन्टमा पनि प्रभावकारी देखिएको छ । यो औषधि धेरै गम्भीर बिरामीहरु र कम्तीमा १२ वर्ष उमेरका बिरामीहरुमा प्रयोग गर्न सकिनेछ ।

फाइजर कम्पनीले यो औषधि अमेरिकी बजारमा तत्काल उपलब्ध गराउनको लागि तयार रहेको बताएको छ । कम्पनीले २०२२ सम्म आफ्नो उत्पादन क्षमतालाई ८० मिलियनबाट बढाएर १२० मिलियन बनाउने तयारी गरिरहेको छ । फाइजरको यो औषधिको १० मिलियन डोजको लागि अमेरिकी सरकारले सम्झौता गरिसकेको छ । फाइजरको यो औषधि व्यापारिक नाम प्याक्सलोभिड नामबाट बेचिनेछन् । यो औषधि कोरोनाको लक्षण देखिन सुरु भएपछि ५ दिनसम्म १२ घण्टाको फरकमा दिनको २ चक्की खानुपर्छ ।

अमेरिकी नागरिकले कोरोनाको प्रभावबाट बच्नको लागि यो औषधि लिएर घरमै नियमित रुपमा खान सक्नेछन् । लामो समयदेखि घरेलु उपचारको लागि काम भइरहेको थियो । प्याक्सलोभिड सुरुवाती कोभिड–१९ संक्रमणको उपचार गर्ने सस्तो तरिका हो । यसको प्रारम्भिक आपूर्ति भने सीमित हुनेछ । यसबाहेक मर्क कम्पनीको अर्को एन्टिभाइरल औषधिले पनि छिटै स्वीकृति पाउने सम्भावना छ ।

फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले फाइजरको यो औषधि १२ वर्ष वा त्योभन्दा बढी उमेरका बिरामीको लागि प्रयोग गर्न स्वीकृति दिएको छ । यो औषधि ४० किलो वा सोभन्दा बढी तौल भएका बिरामीले लिन सक्नेछन् । ४० किलोभन्दा कम तौल भएकाहरुलाई भने अहिले यो औषधि प्रयोग गर्न पाइँदैन । एफडीएले कम्पनीले २२५० बिरामीमा परेको परीक्षणको परिणामलाई स्वीकृति दिएको हो । यो परिणामअनुसार लक्षण देखिएको ३ दिनभित्र यो औषधि लिने १ प्रतिशतभन्दा कम बिरामी मात्र अस्पताल भर्ना हुनु परेको थियो । ३० दिनसम्म भएको परीक्षणको अन्त्यसम्म कसैको पनि मृत्यु भएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *