नवाज शरीफ पाकिस्तान फर्किंदै, केही दिन जेलमा बसेर प्रधानमन्त्री बन्ने
काठमाडौं। पाकिस्तानको राजनीतिमा ठूलो परिवर्तन हुने लगभग तय भएको छ । २०२२ को जनवरी महिनामै यहाँ ठूलो परिवर्तन हुने सम्भावना छ । भ्रष्टाचारको आरोप लागेर २०१९ देखि देशबाहिर रहिरहेका पूर्व प्रधानमन्त्री नवाज शरीफ जनवरीमै पकिस्तान फर्किंदैछन् । त्यसपछि सेनाको सहयोगमा उनी फेरि देशका प्रधानमन्त्री बन्ने लगभग तय भएको पाकिस्तानी अखबार द न्यूजले जनाएको छ ।
पाकिस्तानमा सेनाको सहयोगबिना कुनै सरकार सत्तामा रहन निकै कठिन छ । सेनाले नै परिवर्तनको नाममा इमरान खानलाई सत्तामा ल्याएको थियो । तर, यो अवधिमा इमरान विफल भएको मानेको सेनाले फेरि नवाजलाई ल्याउने तयारी गरिरहेको छ । ३ दिनअघि पाकिस्तानका बरिष्ठ पत्रकार सलीम साफीले ट्वीट गरेका थिए ‘नवाज जनवरी २०२२ मा पाकिस्तान फर्किंदैछन् । देशको सत्तामा परिवर्तनको समय भएको छ ।’
यो ट्वीटलाई पाधिकस्तानभित्र मात्र नभए पाकिस्तानबाहिर पनि गम्भीरताका साथ लिइयो किनकि परिस्थितिले पनि त्यस्तै संकेत गरेका थिए । यही बीच पाकिस्तानका अर्का बरिष्ठ पत्रकार नजम सेठीले लेखे ‘सलीम साफी एकदमै ठिक भन्दै हुनुहुन्छ । नवाज देश फर्किने स्क्रिप्टमा ३ महिनादेखि काम चलिरहेको छ ।’
नवाज शरीफ पाकिस्तानमा सेना र आइएसआइको विरोध गरेकै कारण प्रधानमन्त्रीबाट हटाइएका थिए । नवाजले त्यसपछि भिडियो कन्फरेन्समार्फत पाकिस्तानी जनतालाई सम्बोधन गर्छन् र नामै तोकेर सेनाका अधिकारी र आइएसआइका अधिकारीहरुको आलोचना गर्छन् । यता इमरान असफल भएको र उता नवाजका कारण जनताको अगाडि सेना नै खलपात्र बन्न लागेपछि सेनाले अन्ततः नवाजलाई नै विकल्पको रुपमा देखेको छ ।
पाकिस्तानमा दुई ठूला पार्टी छन् – पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टी । इमरान खानको पार्टी तहरिक ए इंसाफलाई पनि ठूला पार्टीको रुपमा गन्न सकिन्छ तर यसका अधिकांश नेता पिएमएल नवाज वा पीपीपीबाट आएका हुन् । पीपीपीलाई केवल सिन्ध पन्तको पार्टी मानिन्छ । अन्य क्षेत्रमा यो पार्टीको जनाधार कम छ । हुन त यो पार्टी बेनजिर भुोको पार्टी हो तर बेनजीरजत्तिको ओज अब न आसिफ अली जरदारीमा छ र उनका छोरा बिलावल भुट्टो जरदारीमा । आसिफ अली बिरामी भइरहन्छन् । बिलावललाई राजनीतिमा काँचो मानिन्छ ।
पिएमएल एनका प्रमुख नवाज हुन् । उनका भाइ शहवाज शरीफ र छोरी मरियम नवाज दुवै राजनीतिक रुपमा परिपक्व र सक्रिय छन् । इमरान र सेनाको अगाडि नवाज झुकेनन् । उनीहरुलाई कैयौं केसमा फसाएर पनि पार लागेन । पाकिस्तानको सेना र राजनीतिमा ८० प्रतिशत मानिसहरु पंजाबका हुन्छन् भनिन्छ । पिएमएल एन पंजाबमात्र नभए देशका अन्य भागमा पनि लोकप्रिय छ ।
पत्रकार नजम सेठीका अनुसार पाकिस्तानमा सरकार परिवर्तन दुई भागमा हुनेछ । इमरानलाई फेब्रुअरी वा मार्चमा कुर्सी छोड्न बाध्य पारिन सक्छ । बाँकी कार्यकालको लागि पीटिआइकै कुनै नेता ल्याउन सकिन्छ । यी नेता विदेशमन्त्री शाह महमुद कुरैशी हुन सक्छन् । अर्को वर्ष यसै पनि आम निर्वाचन हुँदैछ । त्यसपछि नवाज, शहबाज वा मरियममध्येबाट प्रधानमन्त्री बनाइनेछ । यो सूचीमा सबैभन्दा अगाडि नवाजको नाम छ । यसरी प्रधानमन्त्रज्ञी बन्नको लागि नवाज केही समय स्वदेश फर्केर जेलमा बस्नेछन् । सेना र अदालत मिलेर उनको केस बन्द गर्नेछन् त्यसपछि उनी सत्तामा फर्किने बाटो खुला हुनेछ ।
गएको हप्ताको अन्त्यमा इमरान खानले क्याबिनेट बैठक गरेका थिए । यसको खबर लिक भएको छ । लिक भएको सूचनाअनुसार इमरानले प्रस्ट रुपमा भनेका थिए कि एक भ्रष्ट नेतालाई चौथो पटक देशको वजीर–ए–आजम बनाउने तयारी भइरहेको छ । केही दिन इमरानको पीटिआइको गढ खैबर पख्तुनख्वामा स्थानीय निर्वाचनमा पनि उनको पार्टीले कुनै पनि मेयरको सिट जित्न सकेको थिएन । त्यसपछि आक्रोशित इमरानले अर्को पटक आफैं प्रचारमा जाने बताएका थिए ।







डिसी नेपाल







Facebook Comment