निर्वाचन सुरक्षा कार्ययोजना बनाउन सुरक्षा निकायलाई सरकारको निर्देशन

डिसी नेपाल
१९ माघ २०७८ १६:१६
124
Shares

काठमाडौं । सरकारले सुरक्षाका चारवटै अंगलाई निर्वाचन सुरक्षा कार्ययोजना बनाउन निर्देशन दिएको छ । गृहमन्त्रालयस्थित केन्द्रीय सुरक्षा समितिको बैठकबाट चारवटै अंगलाई स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने सुरक्षा योजना बनाउन निर्देशन दिएको हो ।

‘सरकारले आउँदो मन्त्रिपरिषदको बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने भएकाले त्यसै अनुसार सुरक्षा योजना बनाएर गृहमन्त्रालयमा पेश गर्न सुरक्षा अंगलाई निर्देशन दिइएको छ’, बैठक स्रोतले भन्यो । स्रोतका अनुसार सरकारको निर्णय अनुसार प्रहरी महानीरिक्षकहरुले बैठकमा मुलुकभरको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार अबको बैठकमा सुुरक्षा अवस्थाबारे थप छलफल हुनेछ ।

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए ।

गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणप्रसाद शर्मा स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । करिव दुई घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित छलफल भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग संविधान निर्दिष्ट गरेको मितिमै स्थानीय तहको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोग पदाधिकारीहरुले आउदो जेठ ४ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच जेठ ४ भित्रै निर्वाचन सम्पन्न गर्ने सहमति भएपछि गृहमन्त्रालयले आफू मातहत रहेका निकायहरुलाई सुरक्षा अवस्थाबारे जानकारी लिन र आवश्यक निर्देशन दिन केन्द्रीय सुरक्षा समितिको बैठक राखेको थियो । सो समितिको आगमाी बैठकमा सुरक्षा योजनाको प्रारम्भिक खाकाबारे छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.