साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

डिसी नेपाल
२१ कार्तिक २०८३ २०:०९

काठमाडौं। साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अंग्रेजी भाषाका पाँच कृति शनिबार एकैसाथ विमोचन गरिएको छ।

पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरेका हुन्।

पूर्वसहसचिवसमेत रहेकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासंग्रह र ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रासंग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ तथा अंग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो।

पूर्वअर्थमन्त्री शंकर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताए। उनले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनु सकारात्मक भएको उल्लेख गरे।

कार्यक्रममा पूर्वमुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उनका कृतिमा विविध विधा र अनुभव समेटिएको बताए। ‘सपनाको उडान’ कथासंग्रहमा कथासँगै निबन्धात्मक अनुभूति पनि समेटिएको उनको भनाइ थियो।

वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताए। अवकाशपछि आठ दशकको उमेरमा समेत साहित्य सिर्जनालाई निरन्तरता दिँदै १७ कृति प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *