कोलम्बसमा मनाइयो जुममार्फत सरस्वती पूजा

डिसी नेपाल
२४ माघ २०७८ ७:२०

Ctकोलम्बस। ओहायो राज्यको राजधानी कोलम्बस र आसपास बस्ने बालबालिकाले सरस्वती पूजा मनाएका छन्। सरस्वती पूजाको अवसर पारेर कोलम्बसमा बस्ने बालबालिकालाई लक्षित गरेर कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) ले जुममार्फत ५ फेब्रुअरीमा सरस्वती पूजा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा करिव ८० बालबालिका सहभागी थिए।

रिदम साह, सुस्मा चौधरी, सौरभ चौधरी, अरमान अधिकारीले जुममार्फत संचालन गरेको सो कार्यक्रममा रंगराज अधिकारीले सरस्वती पूजा गरेका थिए। त्यसै गरि दिक्षा दाहाल, दिव्या दाहाल र पूजा पोखरेलले सरस्वती बन्दना गाएका थिए।

कार्यक्रममा बालबालिका सम्बन्धी थुप्रै पुस्तक लेखेकी अनिता अधिकारीले पुस्तक पढ्ने तथा बालबालिकासँग अन्तक्रिया गरेकी थिइन्। लामो समय अमेरिकामै शिक्षण गरेकी कार्यक्रमकी प्रमुख अथिती अधिकारीले एन फर नेपाली, वाइ फर योगा, माइ डटरर्स आर स्मार्ट, नेपाली टेल्स, दशैं आयो तिहार आयो लगायतका बालबालिकाका लागि पुस्तक लेखेकी छन्।

कार्यक्रममा सरस्वती पूजा र नेपाली सम्बन्धी कहुत एप्समार्फत क्विज प्रतियोगिता समेत गरिएको थियो। जसमा दिव्या रिजाल, आराध्या र तानिसी शाह क्रमशः प्रथम, द्वितीय र तृतीय भए। कार्यक्रममा संस्थाका उपाध्यक्ष तौलेश्वर चौधरी र कोषाध्यक्ष रक्षा दाहालले कार्यक्रमा विषयमा प्रकाश पारेका थिए।

हिन्दु मान्यता अनुसार देवी सरस्वतीको जन्म दिन रहेको यस दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न सरस्वती पूजाको दिन शुभ रहने विश्वास छ।

कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) का अध्यक्ष डा. दामोदर पौडेलले कार्यक्रममा बालबालिकाको सहभागीता उत्साहजनक रहेको बताए। लामो समयदेखि ओहायोको चिलीकथेको होपवेल हेन्थ सेन्टरमा चिकित्सकको रुपमा कार्यरत डा. पौडेलका अनुसार नेपाली कला, संस्कृति संरक्षणमा संस्थाले महत्व दिँदै यस प्रकारका कार्यक्रम आयोजना गरेको डिसी नेपाललाई बताए।

कोलम्बससँगै डव्लिन, वेष्टरभिल, रेनोल्सबर्ग पिकरिन्टनलगायतका स्थानमा नेपालीहरु बस्छन्। अमेरिकाका विभिन्न शहरमा रहेको स्थानीय संघ संस्थामध्ये कोना पछिल्लो समय निकै सक्रिय रुपमा देखिएको छ। यस अघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आउँदा वृहत कार्यक्रम आयोजना गरेको थियो। यसपछि लैन सिंह वांदेलको चित्रकला प्रदर्शनी कार्यक्रको तयारी गर्दैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *