देउवालाई ओलीको जवाफ : उपद्रोबाट मुलुकलाई सही ट्रयाकमा ल्याउन एमाले सहयोग गर्छ
काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहयोग खोजेका छन्। प्रधानमन्त्री देउवाले बिहीबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा झण्डै दुई घण्टा छलफल गरेर एमसीसी पारित गराउने विषयमा एमालेको सहयोगको अपेक्षा गरे।
एमसीसीलाई जसरी पनि संसदबाट पारित गराउने पक्षमा रहेका प्रधानमन्त्री देउवा सत्ता गठबन्धनमा कुरा नमिलेपछि पत्नी आरजू राणालाई लिएर ओली निवास बालकोट पुगेका थिए। निरास देखिएका प्रधानमन्त्री देउवाले आफू एमसीसी पारित गराउन लागिपरेको तर सत्ता पक्षभित्रै कुरा नमिलेका कारण अप्ठेरोमा परेको भन्दै ओलीलाई भेट्न आउनुको कारण खुलाएका थिए।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबाटै आफूलाई घेराबन्दी पार्ने काम भइरहेको भन्दै संसद अवरोध अन्त्य गरेर एमसीसी पारित गर्न सहयोग मागेका ओली निकट स्रोतले जनाएको छ।
अहिले परमादेशमा नाममा मुलुकमा जे जे उपद्रो भइरहेका छन्, त्यसले कसैको पनि भलो गर्दैन,’ एमाले प्रमुख प्रतिपक्ष मात्र नभएर मुलुकको सबैभन्दा ठूलो दल हो, एमालेले सधैं जिम्मेवार भूमिका निर्वाह गर्छ।
जवाफमा ओलीले एमाले प्रमुख प्रतिपक्ष मात्र नभएको मुलुकको सबैभन्दा ठूलो दल पनि भएको उल्लेख गर्दै परमादेशमा नाममा भएका उपद्रोबाट मुलुकलाई सही ट्रयाकमा ल्याउन एमालेले जिम्मेवार दलको भूमिका निर्वाह गर्ने जवाफ दिएका थिए।
‘अहिले परमादेशमा नाममा मुलुकमा जे जे उपद्रो भइरहेका छन्, त्यसले कसैको पनि भलो गर्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाले प्रमुख प्रतिपक्ष मात्र नभएर मुलुकको सबैभन्दा ठूलो दल हो, एमालेले सधैं जिम्मेवार भूमिका निर्वाह गर्छ।’
एमसीसीका विषयमा पनि ओलीले आफ्नो भनाइ स्पष्टसँग राखेका थिए। उनले ‘संसदलाई बिजनेश दिने काम सरकारको हो, सरकारले दिएको बिजनेश सभामुखले निशर्त टेवल गर्नुपर्छ, कुनै पनि प्रस्ताव रोक्ने अधिकार संविधानले सभामुखलाई दिएको छैन’ भन्दै एमसीसी संसदमा टेवल गर्न सुझाव दिएका थिए।
उक्त भेटमा देउवाले ‘आफूलाई गठबन्धनबाटै अप्ठेरो पार्ने काम भएको, आफू र प्रचण्डले एमसीसी पारित गर्ने भन्दै एमसीसीलाई पत्र लेखेको’ तर त्यसबाट प्रचण्ड पछि हटेको सुनाएका थिए।
जवाफमा ओलीले संविधानले परिकल्पाना गरेको विषयमा मुलुकलाई हिँडाउन आफ्नो दल सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए। देउवाले गठबन्धनको बैठक शुक्रबार बस्ने र त्यसबाट एमसीसीको विषयमा ‘वारपार’ गर्ने बताएका थिए। एमालेले गठबन्धनको निर्णयपछि बाँकी विषयमा थप छलफल गर्ने संकेत दिएको छ।
सत्ता गठबन्धन दुषित
एमाले उपाध्यक्ष सुवास नेम्वाङले वर्तमान सत्ता गठबन्धन दुषित भएको बताएका छन्। उनले वर्तमान निर्वाचन प्रणालीका कारण गठबन्धन बन्नु स्वाभाविक भएपनि वर्तमान गठबन्धन भने दुषित भएको टिप्पणी गरेका हुन्।
‘यो एमाले विरुद्ध साजिस गर्न बनेको दुषित गठबन्धन हो,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘दश जना दशतिर फर्केर बनेको गठबन्धन पवित्र हुन सक्दैन। यो गठबन्धन टुट्यो भने अचम्म नमाने हुन्छ।’ उनले सरकारले संसदमा विजनेश नदिने तर दोष प्रतिपक्षलाई दिएर उम्किन खोजेको आरोप पनि लगाए।







डिसी नेपाल








Facebook Comment