अमेरिका–रुस आमनेसामने, रुसी सेनाका ट्रकहरु युक्रेनतिर, बाइडेनले पनि दिए सेना पठाउने आदेश

डिसी नेपाल
११ फागुन २०७८ १०:५९
2.2k
Shares

काठमाडौं। युक्रेन संकटका बीच अमेरिका र रुस आमनेसामने देखिएका छन् । एकातिर रुसी सेनाको ट्रकहरुको लस्कर युक्रेनतिर मार्च गरिरहेको खबर छ । अर्कोतिर अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेटो बाल्टिक देशमा सेना पठाउने आदेश दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी सेनाका १०० भन्दा धेरै ट्रकको जुलुस युक्रेनको सीमातर्फ गइरहेको देखिएको छ । रोयटर्सले प्रत्यक्षदर्शीको हवाला दिँदै लेखेको समाचार अनुसार रुसी सेनाको लस्कर बेलगोरोड क्षेत्रमा युक्रेनी सीमातर्फ गइरहेको देखिएको छ । युक्रेनको सीमातिर रुसी सैनिकहरु गइरहेको खबर यस्तो समयमा आएको छ जब रुसी राष्ट्रपतिले युक्रेनमा सेना पठाउने विषयमा निर्णय हुन बाँकी नै रहेको बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले भनेका छन् ‘हामीले युक्रेनमा सेना पठाउने विषयमा अहिलेसम्म आदेश दिएका छैनौं । परिस्थिति हेरेर सैनिकको तैनाथीको विषयमा निर्णय गरिनेछ । सेनाको तैनाथी सम्झौता अनुसार नै गरिनेछ ।’ उनले युक्रेन नेटोमा सहभागी नहुने शर्तमा युक्रेनसँग विवादको हल हुन सक्ने बताएका छन् ।

रुसी सेना अगाडि बढिरहेको खबरका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेटो बाल्टिकका सहयोगी देशहरुको रक्षाको लागि सेना पठाउने बताएका छन् । रुसले पूर्वी क्षेत्रमा धेरै सैनिक तैनाथ गरेका कारण अमेरिकाले पनि सेना पठाउन लागेको बताइएको छ ।

नेटो बाल्टिक देश यस्ता देशहरु हुन् जहाँ कुनै समय मस्कोको शासन थियो अर्थात ती देशहरु पहिले सोभियत संघमा थिए । यी देशहरु एस्टोनिया, लातभिया र लिथुआनिया हुन् । यी देशहरु पहिले सोभियत संघमा थिए र २००४ देखि नेटो तथा युरोपियन युनियनका सदस्य छन् ।

अमेरिकाले रुसमाथि कैयौं प्रतिबन्ध लगाएको राष्ट्रपति बाइडेनले घोषणा गरेका छन् । २ रुसी वित्तिय संस्थामाथि प्रतिबन्ध लगाएको घोषणा गर्दै बाइडेनले रुसले पश्चिमी देशहरुसँग व्यापार गर्न नपाउने बताए । उनले रुसलाई पश्चिमी देशहरुबाट दिइने सहयोगमा पनि रोक लगाइने बताउँदै युक्रेनलाई हतियारको आपूर्ति गरिरहने बताए ।

अमेरिकी राष्ट्रपतिले आफ्नो सम्बोधनमा नेटो सहयोगीहरुको सुरक्षको लागि अमेरिकाले सेना पठाउन लागेको बताए । पूर्वमा रुसले लगातार आफ्नो उपस्थिति बढाइरहेको बताउँदै बाइडेनले नेटो सहयोगी देशहरुको प्रत्येक इन्छ जमिनको सुरक्षाको लागि अमेरिका प्रतिबद्ध भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *