रुसी राष्ट्रपति पुटिनको गोप्य ‘प्लेबुक’ के हो ? अमेरिका यससँग किन डराइरहेको छ ?

डिसी नेपाल
११ फागुन २०७८ १४:४२
5.3k
Shares

काठमाडौं। रुस र युक्रेनबीचको वस्था अहिले निकै खराब भइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनाबासलाई छुट्टै स्वतन्त्र देशको रुपमा मान्यता दिएर त्यहाँ आफ्नो सेना पठाएका छन् । अमेरिकाले पनि जवाफी कारवाही तीब्र बनाउको छ । अमेरिका, बेलायत सहित कैयौं देशले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि पूर्वी युरोपका नेटो सदस्य देशहरुमा सेना पठाएका छन् । यो तनावका कारण तेस्रो विश्वयुद्धको समेत आशंका गर्न थालिएको छ ।

यो तनावका बीच सबैभन्दा धेरै चर्चा रुसी राष्ट्रपति पुटिनको गोप्य ‘प्लेबुक’को भइरहेको छ । सबैभन्दा पहिले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पुटिनको प्लेबुकबारे कुरा गरेका थिए । उनले युक्रेनमा अहिले भइरहेको तनाव रुसी राष्ट्रपतिको यही ‘प्लेबुक’को सुरुवात मात्र भएको बताएका थिए । ब्लिंकनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्ना खुफिया एजेन्सीको हवाला दिँदै रुसले युक्रेनको सीमामा डेढ लाखभन्दा धेरै सैनिक तैनाथ गरेको र आगामी दिनमा युद्ध हुन सक्ने बताए । उनले युक्रेनको राजधानी किभलाई पनि निशाना बनाउन सकिने आशंका व्यक्त गरे ।

के हो पुटिनको प्लेबुक ?

गत वर्ष एउटा किताब प्रकाशित भएको थियो । यो किताब अमेरिकी खुफिया एजेन्सीकी एजेन्ट रहेकी रेबेका कोफलरले लेखेकी थिइन् । उनको किताबको शीर्षक थियो ‘पुटिन्स प्लेबुकः रसियाज सिक्रेट प्लान टु डिफिट अमेरिका’ अर्थात ‘पुटिनको प्लेबुकः अमेरिकालाई हराउन रुसको गोप्य योजना’ । यो किताबमा कोफलरले सोभियत संघको पतनलाई पुटिनले रुसको अपमानको रुपमा लिएको बताउँदै पश्चिमी देशहरुसँगको युद्धमा पुटिन रुसलाई एक महान शक्तिको रुपमा स्थापित गर्न चाहन्छन् भन्ने लेखेकी थिइन् ।

१९९१ मा सोभियत संघ विघटन भएपछि कैयौं देशहरु जन्मिए । यी देशहरुमा धेरै किसिमका संघर्ष पनि भए । जस्तै मोल्दोभाको ट्रान्सनिस्ट्रिया, जर्जियाभित्र साउथ ओसेसिया र अबकाजिया । रुस यी संघर्षहरुमा आफूलाई सधैं ठूलो भूमिकामा देख्छ । रुसले डोनाबासमा पनि यस्तै गरेको छ । डोनाबार पूर्वी युक्रेनको भाग हो । रुसले डोनाबासका पृथकतावादी स्थानीय थिए जसले युक्रेन सरकारविरुद्ध हतियार उठाएका थिए भन्ने कुरालाई मान्यता दिएको छ ।

यद्यपि रुसले यी पृथकतावादीलाई समर्थन गरेको र उनीहरुलाई हतियार उपलब्ध गराएको आरोप पश्चिमी देशहरुले लगाउँछन् । अहिले रुसले पृथकतावादी नियन्त्रित यो क्षेत्रलाई छुट्टै देशको मान्यता दिएको छ । प्लेबुकका अनुसार रुसको अबको कदम डोनाबासलाई पूर्ण रुपमा युक्रेनबाट काटेर त्यहाँ पनि आफ्नो सेना पठाउने । अहिले पृथकतावादीको नियन्त्रणमा डोनाबासको केही भाग मात्र छ, बाँकी डोनाबास अहिले पनि युक्रेनी सेनाको नियन्त्रणमा छ । प्लेबुकका अनुसार रुसले पूरै डोनाबासमा सेना पठाउन सक्छ ताकि युक्रेन टुक्रियोस् र पश्चिमी देशलाई यस क्षेत्रमा सेना राख्न कठिन होस् ।

यसको तयारी २०१४ देखि नै सुरु भइसकेको छ । डोनाबासमा त्यतिबेलादेखि पृथकतावादी र युक्रेनी सेना लडिरहेका छन् । रुसले यहाँ युक्रेनी सेनाको कारवाहीलाई ‘नरसंहार’ भन्छ । पछिल्ला केही महिनायता पुटिनले लगातार डोनाबासको मुद्दा उठाइरहेका छन् । यसबाट पनि रुसले आगामी दिनमा पूरै डोनाबास नियन्त्रणमा लिन सक्ने संकेत पाइन्छ ।

रुसको आक्रामक रणनीति अनुसार उसले कुनै क्षेत्रमा तीब्र रुपमा आक्रमण गर्ने र त्यहाँ विरोधीहरुलाई हराउनासाथ त्यहाँबाट सेना हटाउने नीति लिन सक्छ । यसो गर्दा एकातिर रुसको प्रभाव बलियो हुनेछ भने अर्कोतिर यो सन्देश दिन पनि रुस सफल हुनेछ कि अमेरिका वा अरु कुनै देशले ती क्षेत्र बचाउन सक्दैनन् ।

विश्वमा अमेरिकी वर्चश्व अन्त्य गर्नको लागि पुटिनको जुन प्लेबुकको चर्चा भइरहेको छ र जसको सुरुवात अहिले युक्रेनमा भएको भनिएको छ, २००८ मा रुसले यसको ट्रायल जर्जियामा गरिसकेको छ । यहाँ अत्यन्तै तीब्र रुपमा आक्रमण गरेर रुसले विरोधी शक्तिहरुलाई घुँडा टेकाएको थियो । २००८ मा पनि रुसले जर्जियामाथि नरसंहारको आरोप लगाएको थियो ।

युक्रेनजस्तै जर्जिया पनि नेटोमा सहभागी हुन चाहन्थ्यो । रुसको उद्देश्य जर्जिया नेटोमा सहभागी हुन नसकोस् भन्ने थियो र यो उद्देश्यमा रुस सफल पनि भयो । २००८ मा पनि रुसले जर्जियाको अबकाजिया र दक्षिण ओसेसियालाई छुट्टै देशको मान्यता दिएको थियो र त्यहाँ आफ्नो सेना पठाएको थियो । अहिले यही फर्मुला युक्रेनमा पनि लागू गरिएको छ ।

अमेरिकी राष्ट्रपति एन्टोनी ब्लिंकनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा यही प्लेबुकको बारेमा उल्लेख गर्दै रुसले युक्रेनमा कैयौं चरणमा आक्रमण गर्न सक्ने बताए । उनका अनुसार रुसले युक्रेनका नागरिकमाथि ड्रोन स्ट्राइक र बमबारीको आरोप लगाउन सक्छ । रुसले यसलाई नरसंहार बताउन सक्छ । त्यसपछि युक्रेनमा रहेका आफ्ना नागरिकको सुरक्षाको हवाला दिएर रुसले जवाफी कारवाही गर्न सक्छ किनकि उसले २००८ मा जर्जियामा यही गरेको थियो । रुसको मिडियाले पनि यसलाई बढावा दिन सक्छ ।

ब्लिंकनको दावी अनुसार रुसले युक्रेनमाथि साइबर आक्रमण गरेर त्यहाँको संचार प्रणालीलाई जाम गर्न सक्छ । त्यसपछि रुसी ट्यांक र सैनिकले राजधानी किभसमेत पहिलेदेखि तय गरिएका युक्रेनी अड्डाहरुमा आक्रमण गर्नेछन् । विरोधीहरुलाई ब्याकफुटमा लैजानको लागि रुस साइबर आक्रमणको प्रयोग ठूलो परिमाण्मा गर्छ । जनवरी महिनाको मध्यमा युक्रेनका ७० भन्दा धेरै सरकारी वेबसाइट डाउन भएका थिए । किभले यसको आरोप मस्कोमाथि लगाएको थियो ।

रुसलाई युक्रेनसँग समस्या के छ ?

धेरैले जान्न चाहेको कुरा हो आखिर रुसलाई युक्रेनसँग समस्या के छ ? यसलाई बुझ्नको लागि केही वर्ष पहिले जानुपर्छ । २०१४ मा रुसले सेना पठाएर युक्रेनको एक भाग क्रिमियालाई अलग गरेर आफूमा मिलाएको थियो । युक्रेनमा रुस समर्थक राष्ट्रपतिलाई सत्ताबाट हटाइएपछि रुसले यस्तो गरेको थियो । अहिलेको युक्रेनी सरकारलाई रुसले अमेरिकाको कठपुतली भन्छ । रुसले युक्रेन नेटोमा सहभागी हुन लागेको र यसो भएमा अमेरिका र नेटोका सेना युक्रेनमा आउने, उनीहरुका हतियार आउने र रुसको सीमाछेउ उनीहरुले अड्डा पाउने आरोप लगाउँछ ।

यो कुरा पुटिनले सहन गर्न सक्दैनन् । त्यसैले रुस युक्रेनका विषयमा आक्रामक छ । युक्रेनसहित पूर्वी युरोपका कैयौं देश जो पहिले सोभियत संघमा थिए उनीहरु सोभियत संघ विघटनपछि अमेरिकाको नजिक पुगेका छन् । ती देशहरुमध्ये कैयौं देश अहिले नेटोको सदस्य पनि बनिसकेका छन् । युक्रेन पनि उनीसहरुकै बाटो भएर नेटोको सदस्य बन्न खोज्दैछ । यही कारण रुसले युक्रेनलाई ब्याकफुटमा धकेल्ने कोसिस गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *