नेपालमा आत्मबृत्तान्तका पहिलो लेखक पृथ्वीनारायण शाह हुन्ः डा. त्रिरत्न मानन्धर

डिसी नेपाल
१४ फागुन २०७८ १८:४८
40
Shares

काठमाडौं । लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति तथा इतिहासविद प्राध्यापक डाक्टर त्रिरत्न मानन्धरले नेपालमा आत्मबृत्तान्त लेख्ने पहिलो व्यक्ति पृथ्वीनारायण शाह रहेको बताएका छन् ।  शाहले लेखेको दीव्य उपदेश नै नेपालको पहिलो आत्मबृत्तान्त भएको उनले जानकारी गराए । प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले लेखेको ‘कचिडेदेखि काठमाडौंसम्मः  फर्केर हेर्दा’ र ‘आखिर दोषी को ?’ नामक दुईवटा पुस्तकको सनिवार काठमाडौमा आयोजित विमोचन कार्यक्रममा मानन्धरले सोकुरा बताएका हुन् ।

मानन्धरले दीव्य उपदेशमा शुरुमा पृथ्वीनारायाण शाहको जीवनीको बारेमा उल्लेख भएपछि उनले अवलम्बन गर्न चाहेको नीतिहरुको बारेमा उल्लेख गरिएकोले यसलाई पहिलो आत्मबृत्तान्त भनेका हुन् । प्रा. डा. तीर्थप्रसाद मिश्रले लेखेको ‘कचिडेदेखि काठमाडौंसम्मः  फर्केर हेर्दा’ नामक पुस्तक पनि उनी जन्मिएको स्थान कचिडेदेखि कर्मथलो काठमाडौंसम्मको जीवनी समेटिएको छ । कोरोना कालमा कतै बाहिर हिडडूल गर्न नपाउँदा रिटायर्ड जीवनमा दुईवटा पुस्तक मिश्रले तयार गरेकाले ‘गुरु गुड, चेला चिनी’ जस्तो भएको बताए ।

मिश्रले इतिहासलाई बर्तमानसंग जोडेर पुस्तकमा लिक्षवीकालदेखि शाहकालसम्मका विभिन्न राजनीतिक घटनाक्रमलाई अनुसन्धानमूलक ढंगले लेखेको पुस्तकको टिप्पणीकार नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति कूलप्रसाद कोइरालाले बताए । अर्का टिप्पणीकार प्राध्यापक डाक्टर विष्णु सापकोटाले पुस्तकमा मिश्रले नेपालको राजनीतिमा महिला महत्वकांक्षाले पारेको प्रभावका बारेमा व्याख्या गर्दै राजदरवार हत्याकाण्डमा महिला महत्वकांक्षा कसरी हावी भएको थियो भन्ने उजागर गरेको बताए ।

सापकोटाका अनुसार मिश्रको पुस्तकले इतिहास र राजनीतिको अन्तरनिहित सम्बन्ध रहेको प्रमाणित गरेको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालका पूर्व उपकूलपति नवीन प्रकाशजंग शाहले मिश्रले लेखेको पुस्तकले नेपालको इतिहासदेखि बर्तमानसम्मका तीतो यथार्थको चित्रण गरेकोले अहिलेको नयाँ पुस्तालाई यसले विगत र बर्तमानलाई तुलना गरेर देश कुन दिशामा गइरहेको छ भन्ने विश्लेषण गर्न सजिलो बनाएको बताए ।

दुवै पुस्तकका लेखक प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले आफूले आफ्नै कुरालाई जीवन विज्ञानलाई उजागर गर्ने गरी कोरोनाको कहरको बेलाको समय सदुपयोग गर्न लेखेको बताए । उनले कोरोनाको बेला अमेरिकामा बस्दा नेपालको समाचारहरु सुन्दा हेर्दा धेरै चिन्ता लागेकोले तत्काल विभिन्न मिडियामा नियमित लेखहरु लेखेको र सोही लेखहरुको संगालोको रुपमा आखिर दोषी को ? नामक पुस्तक तयार भएको जानकारी दिए ।

कार्यक्रममा हेमन्त शमशेर राणा,पूर्वमूख्य सचिब ईश्वरप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर घनश्याम भट्टराई लगायतले मन्तव्य राखेका थिए । बानेश्वर बहुमूखी क्याम्पसको संचालक समितिका अध्यक्ष हरिबोल भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वराजदुत र प्रोफेसरहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.