‘पार्टी निर्णय विपरित जाने अधिकार प्रचण्डलाई पनि छैन’
काठमाडौं। पार्टी लाइन विपरित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक टिप्पणी गर्दै संसदबाट अनुमोदन गर्न सहयोग गरेपछि माओवादी भित्र उत्पन्न विवाद साम्य भएको छैन।
विशेष गरी पूर्व एकता केन्द्र समूहले ब्याख्यात्मक टिप्पणीलाई ‘जनताको ‘आँखामा छारो हाल्ने काम’ भनेको छ। एमसीसीका विषयमा विवाद चुलिँदै जाँदा नारायणकाजी श्रेष्ठ समूहले माओवादी परित्याग गर्नेसम्मका विषयमा छलफल गरेपनि तत्काल त्यस्तो संभावना नरहेको नेताहरुले जनाएका छन्।
माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा श्रेष्ठले फरक मत राखेका छन्। उक्त प्रस्तावमाथि केन्द्रीय कमिटीमा छलफल गर्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएका छन्। तर नारायणकाजीले राखेको फरक मत पनि पूर्ण नभएको भन्दै सो समूहभित्रै असन्तुष्टि बढेको छ।
सो समूहका नेता एवं माओवादीका केन्द्रीय लेखा परिक्षण आयोगका अध्यक्ष पेशल खतिवडाले नेता श्रेष्ठले राखेको फरक मतमा दुईवटा विषय छुटेको भन्दै आफूलेपनि लिखित रुपमा फरक मत राख्ने जनाएका छन्।
डिसी नेपालसँग कुरा गर्दै नेता खतिवडाले ब्याख्यात्मक टिप्पणी गर्दै एमसीसी पारित गर्ने पार्टीको लाइन नभइ अध्यक्षको लाइन भएको र अध्यक्षलाई पनि पार्टीको लाइन उल्लघंन गर्ने अधिकार नभएको जिकिर गरे।
‘महाधिवेशनले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको थियो,’ खतिवडाले डिसी नेपालसँग भने, ‘पार्टी निर्णय विपरित अध्यक्षले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहयोग गर्नु भयो। पार्टीको निर्णय विपरित निर्णय गर्ने अधिकार अध्यक्षलाई छैन।’
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजीलाई पार्टी छोड्न भनेको र महाकाली सन्धिको विरोध गरेका बामदेव गौतमलाई गलत भनेर महाकाली सन्धिको समर्थन गरेकोसमेत आरोप लगाए। ‘उहाँले बामदेव गौतमको उदाहारण दिएर महाकाली सन्धिको समर्थन गर्नु भएको छ,’ खतिवडाले भने, ‘महाकाली सन्धिमा बामदेवको अडान सही थियो। महाकाली सन्धि राष्ट्रघाती नै हो। अध्यक्षले त्यसकोसमेत विरोध गर्नु भयो।’
यी विषय नारायणकाजीको फरक मतमा नपरेको भन्दै उनले असन्तुष्टीसमेत जनाए। यी विषयलाई समेटेर आफूले केन्द्रीय कमिटी बैठकमा लिखित रुपमा फरकमत राख्ने र त्यो राख्न नदिए आफू मिडियामा जाने चेतावनी दिए।
सकेसम्म पार्टीििभत्रै बसेर महाधिवेशनले तय गरेको कार्यदिशातर्फ पार्टीलाई हिँडाउन संघर्ष गर्ने, त्यो संभव नभए नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ थियो।
उनले तत्काल आफूहरुले नयाँ पार्टी गठनका विषयमा नसोचेको तर आवश्यक परेको खण्डमा देशभक्त, जनतन्त्र र जनजीविकाका विषयमा नयाँ संस्था आवश्यक परे त्यसका लागिसमेत आफूहरु तयार रहेको उनको भनाइ थियो।







डिसी नेपाल








Facebook Comment