चुनावमा होमिएका राजनीतिक दल बल्ल घोषणपत्रको तयारीमा

सम्भव सिंह ठकुरी
७ चैत २०७८ १२:४८

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता, कार्यकर्ताहरु यति बेला चुनावी अभियानमा केन्द्रित छन्।

चुनावी परिणाम आफू अनुकूल बनाउन ठूला पार्टीका ठूला नेतादेखि सबै साना दलहरु तीब्र रुपमा प्रचार प्रसारमा लागेका छन्। तर देशका राजनीतिक दलहरु कुनै खास चुनावी एजेण्डा भन्दा एक अर्कालाई गालीगलौज र आरोप प्रत्यारोप मै केन्द्रित रहेर चुनावमा होमिएका छन्।

कार्यकर्ता माझ कुनै पनि दलको आगामी राजनीतिक घोषणा पत्र र चुनावी एजेण्डा देखिँदैन। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आवधिक निर्वाचनलाई मानिन्छ। त्यसैले निर्वाचन भनेको जनताको प्रत्यक्ष दैनिकीमा प्रभाव पार्ने खालको एजेण्डा हुनुपर्ने हो। तर राजनीतिक दलहरु एजेण्डाभन्दा पनि विपक्षी दललाई गालीगलौज, आरोप प्रत्यारोप लगाएर नै मतदाता आफ्नो पक्षमा बनाउन लागिरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित सबै पार्टीका केन्द्रीय नेताहरु देश दौडाहामा छन्।

कांग्रेसले गत फागुन २९ गते देखि चैत २९ गतेसम्म ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ। सो अभियानले एमसीसी बारे भएको भ्रम र यथार्थ जनतालाई बुझाउने उद्देश्य राखेको जनाएको छ। तर कुनै जनताको दैनिकीमा प्रभाव पर्न सक्ने घोषणा पत्र र नारा बनाउन सकेको छैन।

एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देश दौडाहामा छन्। तर एमालेसँग पनि निर्वाचन लक्षित न कुनै नारा र न एजेण्डा नै। ओलीका भाषण चुनाव केन्द्रित सभामा एमालेबाट विभाजन भएको माधव नेपाल समूहलाई गालीगलौज र सत्तागठबन्धनलाई आरोप लगाउन मै केन्द्रित देखिन्छन्।

माओवादी र नेकपा (एस)को कमजोर संगठन भएका कारण चुनावमा गठबन्धन कसरी जोगाउने र आफ्नो अस्तित्व कसरी कायम गर्ने मै केन्द्रित छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यो अवधि भनेको अब करिब १ महिना हो। त्यसैले राजनीतिक दलको चुनावी एजेण्डा र घोषणा पत्र कहिले आउँछ भन्ने  निकै कौतुहलताको विषय बनेको छ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार स्थानीय आवश्यक्ता अनुसार स्थानीय तहले नै घोषणा पत्र बनाउने भएकाले केन्द्रबाट निर्देशन दिइसकेको हुनाले चैत मसान्त भित्र घोषणा पत्र सार्वजनिक हुने बताए।

‘घोषणा पत्र दुई किसिमको हुन्छ। एउटा राष्ट्रिय तहको र अर्को स्थानीय तहको आधारमा हुन्छ। अहिले हामी राष्ट्रिय तहको घोषणा पत्रको गृहकार्य गर्दै छौँ। मुलुक संघीयतामा गइसकेपछिको दोस्रो निर्वाचनको नजिक आएका छौँ,’ महतले भने, ‘त्यसकारण यो अवधिमा भएको उपलब्धी, जनताले महशुस गरेका कानूनी प्रत्याभूति तथा कम्युनिष्टका कारण देशले भोग्नु परेको दुर्गती तथा आगामी देश विकासको लक्ष्यसहित विभिन्न पक्ष समेटेर कांग्रेसको घोषणा पत्र आउँछ। तर स्थानीय तहको निर्वाचनको हकमा भने स्थानीय जनताको आवश्यक्ताको आधारमा घोषणा पत्र बनाउनुपर्ने भएकाले त्यो कुरा केन्द्रबाट हुँदैन। त्यसैले स्थानीय तहमा कस्तो समस्या छ? सो समस्याको समाधानमा केन्द्रित रहेर हाम्रो पार्टीको स्थानीय समितिले नै बनाउनु हुन्छ।’

एमालेले पनि आज बस्ने पोलिटब्युरो सदस्यको बैठकले एउटा टिम बनाएर गृहकार्य गर्ने जनाएको छ। एमाले प्रमुख सचेतक बिशाल भट्राईले भने ‘हामी अहिले पोलिटब्युरो सदस्यको बैठक बसिरहेका छौँ। आज नै एउटा टिम बनाएर गृहकार्य थाल्छौँ। एउटा राष्ट्रिय स्तरको बनाउँछौँ र अर्को स्थानीय स्तरको बनाउँछौँ।’

माओवादी नेता हरिवोल गजुरेल पनि पार्टीको घोषणा पत्र ‘ड्राफ्ट’ भइसकेकाले फाईनल हुन मात्र बाँकी रहेको बताउँछन्। ‘हाम्रो पार्टीको घोषणा पत्र ‘ड्राफ्ट’ भइसकेको छ अब फाईनल गर्न मात्र बाँकी हो। चैत ८ गते पार्टीको प्रदेश ईन्चार्जहरुको एउटा संयुक्त बैठक छ। सो बैठक पश्चात एउटा राष्ट्रिय लेभलको र अर्को स्थानीय लेभलको घोषणा पत्र सार्वजनिक गर्छौँ,’ गजुरेलले भने।

नेकपा (एस) ले पनि एक हप्ता भित्रमा सार्वजनिक गर्ने गरि आन्तरिक तयारीमा जुटेको जनाएको छ। नेता मेटमणि चौधरीका अनुसार घोषणा पत्रको ‘ड्राफ्ट’ अन्तिम चरणमा पुगेकाले एक हप्ता सम्ममा सार्वजनिक हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *