चीनले सहयोग नगरेकाले भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँः स्वास्थ्यमन्त्री खतिवडा

डिसी नेपाल
८ चैत २०७८ २१:४५
480
Shares

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भक्तपुरको दुवाकोटमा निर्माण गर्ने भनिएको वीर अस्पतालको भवन नेपाल सरकारको बजेटले मात्रै निर्माण हुन नसक्ने बताएका छन् । स्थानीय जनताको सहमतिमा नेपाल सरकारले यहाँको ५७० रोपनी जग्गामा एक हजार शय्याको स्पेसालिटी वीर अस्पताल निर्माण गर्न भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाममा २०७३ सालमा जग्गादर्ता गरे पनि अस्पताल निर्माण अलपत्र परेको छ ।

आज अस्पताल निर्माणस्थलमा पुगेका मन्त्री खतिवडासहित स्वास्थ्य मन्त्रालयमा सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाईं, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा रमेश ढकाल, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रवक्ता डा सङ्गीता मिश्रलगायतको टोलीले अनुगमन गरेको हो ।

सुरुमा रु ३० अर्बको बजेटमा अस्पताल निर्माण गर्ने बजेट इस्टिमेट गरेको भए पनि अहिले त्यसको लागत ४० देखि ५० प्रतिशत बढेर करिब रु ५० अर्ब पुगेको अनुमान गर्दै मन्त्री खतिवडाले चिनियाँ सरकारले अस्पताल बनाइदिने भनेर नै यो परियोजना अगाडि बढाएको बताए।

चिनियाँ सरकारले लगानी सहयोग नगरे नेपाल सरकारकै बजेटमा मात्रै तत्काल अस्पताल निर्माण हुननसक्ने बताउँदै मन्त्री खतिवडाले भने, “यो अर्काको खुट्टामा टेकेर अगाडि बढ्न खोजेको परियोजना हो, चीन सरकार विश्वसनीय भएर लगानी गर्न सहमत भए मात्रै यो परियोजना अगाडि बढ्छ, यो ठूलो बजेट भएकाले हाम्रो बजेटले मात्रै निर्माण गर्न सक्दैनौँ ।”

चीन सरकारले बजेट दिन्छाँै भनेर नै नेपाल सरकारले यो परियोजना अगाडि बढाउन आँट गरेको भन्दै उनले गरिब देश हुनुको पीडा यस्तो बेलामा देखिने बताए । कोभिडका कारण पनि समस्या आएको उनको भनाइ थियो ।

अरूको भर पर्दा यस्तो समस्या आउने बताउँदै मन्त्री खतिवडाले भने, “चिनियाँ परराष्ट्रमन्त्रीको हुन लागेको नेपाल भ्रमणमा यो अस्पतालसहितका अरू परियोजनाका बारेमा छलफल हुन्छ, त्यतिबेला चीन सहमत भए अस्पताल निर्माण अगाडि बढ्छ, सहमत नभए नेपाल सरकारले लिखिर लिखिर भए पनि काम सुरु गर्छ, दाता पनि खोज्छ, अस्पताल निर्माणको अगाडि बढाउने कुरामा सरकार प्रतिबद्ध छ ।”

फास्ट ट्र्याक निर्माणमा विदेशीले लगानी गर्न नमानेपछि सरकारले आफँै गर्न खोज्दा ढिलाइ भएको भन्दै उनले भने, “दोस्रो चक्रपथ बन्ने भनेको कति भयो, २७ किलोमिटर सडक निर्माण गर्न थालेको छ वर्षमा बल्ल कोटेश्वरबाट कलङ्की पुग्यो, यो पूरा गर्न १५ वर्षमा पनि सकिँदैन जस्तो लाग्न थालेको छ, ठूला परियोजना आफँै सञ्चालन गर्न हुति र ल्याकत हामीसँग छैन, अनि दाताको भर पर्नुपर्दा समस्या त आउँछ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले अस्पताल निर्माण क्षेत्रमा पटकपटक विभिन्न मन्त्री र सरकारी टोलीले अनुगमन गरे पनि काम अगाडि नबढेको भन्दै आक्रोश व्यक्त गरे । उनले न्याम्सको लापरवाही र फाइल नै लुकाउने प्रवृत्तिले अस्पताल निर्माण रोकिएको भन्दै नबनाउने भए बनाउन सक्दैनाँै भन्न र बनाउने भए काम अगाडि बढाउन आग्रह गरे ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अस्पताल निर्माण गर्ने भनेर नै जनताले जग्गा दिएको बताउँदै भने, “यहाँ आउन मूलपानी, पेप्सीकोला, तेलकोट, भक्तपुर चारैतिरबाट सडक निर्माण भइरहेको छ, खानेपानी स्रोतको काम, विद्युत् आपूर्तिको काम भएको छ, तर बर्सेनि सरकारले छुट्याएको रु ४० देखि ५० करोड फ्रिज भइरहेको छ, यो कस्तो विडम्बना हो ?” आफूहरु रातदिन नसुतेर अस्पताल यहाँ ल्याउन लागेको भन्दै उनले अस्पतालले ल्याब, ओपिडिलगायत सामान्य सेवासमेत नदिँदा स्थानीयवासी आक्रोशित बन्नु स्वाभाविकै भएको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले यहाँ अस्पताल बनाउँछौँ भनेर चीन सरकारले लिखित सहमति गरेको कतै नपाइएको उल्लेख गर्दै यहाँ लाग्ने करिब रु ५० अर्ब बजेटको सुनिश्चितता नभएसम्म अस्पताल बन्छ भनेर भन्न नसकिने बताए । यहाँ विनियोजन गरेको दुई आर्थिक वर्षको बजेट फ्रिज भए पनि यस वर्षको बजेटले भने आगामी असारसम्म कुनै न कुनै काम अगाडि बढाइने उनले बताए ।

त्यस अवसरमा न्याम्सका उपकूलपति प्रा डा देवनारायण शाहले यहाँ वीर अस्पताल निर्माणका लागि सरकारको प्रयास जारी रहेको बताउँदै दुईपटक चिनियाँ टोलीले अनुगमन गरे पनि कोभिड महामारी सुरु भएपछि यो परियोजनाको काम अगाडि बढ्न नसकेको बताए ।

वीर अस्पतालका निमित्तप्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले यहाँ विगतमा एकजना चिकित्सकसहित तीनजनाको स्वास्थ्य टोली खटाएको, सुरक्षा गार्ड खटाएको, साताको एक दिन विशेषज्ञ चिकित्सक खटाए पनि कोभिडका कारण ती सेवा बन्द भएको बताए ।

उनले भने, “वैशाख १ गतेदेखि ल्याब, एक्स–रे सेवा यहीँबाट सञ्चालन गर्छौँ, ओपिडीसहित विशेषज्ञ सेवा पनि सुरु गर्छौँ, स्थानीयवासीको मागलाई सम्बोधन गर्छौँ ।” सरकारले स्थानीयवासीको जग्गा लिएर अस्पताल नबनाई अलपत्र बनाएको भन्दै कार्यक्रमस्थलमै आक्रोश व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.