चटपटे बेचेर परिवार पाल्दै आएकी चन्द्रिका भन्छिन्-मेहनत गरे यहाँ सुन फल्छ

डिसी नेपाल
११ चैत २०७८ ११:४९
2.0k
Shares

काठमाडौं। राजधानीको व्यस्त शहर मध्य बानेश्वरमा सानो सटर भाडामा लिएर पानी पुरी र चटपटे बेच्न थालेकी सिन्धुपाल्चोक मेलम्चीकी चन्द्रिका रिजाललाई अहिले परिवार पाल्न समस्या छैन। अरुकोमा रोजगारीका लागि धाउनु भन्दा सानो लगानीमा आफैं केही गरौं भन्ने उद्देश्यले चन्द्रिकाले सानो लगानीमा पानी पुरी र चटपटे पसल खोलेकी छन्।

यसअघि पनि चन्द्रिका किराना पसल चलाउँथिइन्। कोरोना संक्रमणपछि भएको लकडाउनेले व्यापार चौपट भएपछि उनी केही समय खाली नै बसिन्। चन्द्रिकाले चार महिना पहिला मात्रै मध्य बानेश्वरमा पानी पुरी र चटपटे पसल सुरु गरेकी हुन्।

चार महिना अघि ६० हजारको लगानीमा पानी पुरी र चटपटे पसल सुरु गरेकी उनको अहिले दैनिक पाँच हजारसम्मको व्यापार हुन्छ। उनले यही व्यापारबाट सम्पूर्ण घर खर्च चलाएर केही रकम बचत पनि गरेकी छन्।

पानी पुरी र चटपटे युवा युवतीबीच लोकप्रिय छ। उनको पसल नजिकै रत्नराज्य स्कुल छ। त्यहाँका विद्यार्थी चन्द्रिकाका ग्राहक हुन्। विहान दश बजेदेखि साँझ ६ बजेसम्म उनको व्यापार हुने गर्छ। गर्मीको सिजन सुरु भएपछि यतिबेला चन्द्रिकालाई भ्याइ नभ्याइ छ। अरुलाई पानी पुरी र चटपटे खुवाउने चन्द्रिका कहिले काँही आफू खानसमेत नभ्याउने बताउँछिन्।

उनलाई व्यापार नाफाघाटा भन्दा पनि आफूले व्यावसाय सुरु गरेकोमा खुशी लागेको छ। ‘मान्छेहरु यहाँ काम गर्न र व्यापार गर्न लजाउँछन्,’ चन्द्रिका भन्छिन्, ‘हामी नेपाली विदेशमा भए ५० डिग्रीको तापक्रममा पसिना चुहाउन सक्छौं। तर आफ्नै देशमा परिवारसँगै बसेर केही व्यापार व्यावसाय गर्न चाहिँ लाज मान्छौं।’

उनले मेहनत गरे नेपालमा सुन फल्ने बताइन्। पछिल्लो समय युवा पुस्तामा मुलुकभित्रै केही गरौं भन्ने भावनाको विकास भएको उनको अनुभव छ।

काम कुनै पनि सानो ठूलो नहुने ठान्ने चन्द्रिका ठूला व्यापारी पनि सानो कामबाटै माथि पुगेको बताउँछिन्। राजधानीको महंगीमा उनले सन्तुलित मूल्य र स्वादिष्ट पानी पुरी र चटपटे बेच्ने गरेकाले आफ्नो राम्रो व्यापार भइरहेको बताइन्।

‘काम सानो ठूलो हुँदैन भन्ने कुरा बुझ्नुपर्छ,’ उनी भन्छिन्, ‘अरुको मुलुकमा गएर तल्लोस्तरको श्रम गर्न तयार हुने तर आफ्नो देशमा चाहिँ सानो काम भनेर हेला गर्दा युवा शक्ति विदेश पलाएन हुने क्रम बढेको हो।’

विदेशीने युवा शक्तिलाई रोकेर मुलुकभित्रै रोजगारी वा व्यावसाय गर्ने वातावरण भने सरकारले मिलाउनु पर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.