बुटवल उपमहानगरः २२ वर्षे बिरासत जोगाउन एमालेलाई चुनौती
बुटवल। स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा मेयरका आकांक्षीहरुले आन्तरिक भेटघाटलाई तीव्र बनाउन थालेका छन्। लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये बुटवल उपमहानगरपालिकामा यतिबेला धेरैको चासो देखिएको छ। यो नगरमा २२ वर्षदेखि एमालेले एकतर्फी कब्जा जमाउँदै आएको छ।
बलियो संगठन भएको हिसाबले पनि बुटवलमा एमालेले चुनाव सहजै जित्ने आंकलन गर्न थालिएको छ। मेयरका लागि एमालेबाट बाबुराम भट्टराई र गोपाल रानामध्ये एकले टिकट पाउने संभावना बढेको छ। दुवै नेताले जिल्लादेखि केन्द्रसम्म लविङ तीव्र पारेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो। एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ।’
भट्टराई र रानामा को बलियो ?
अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए। पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो।
फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए। लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन्। नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो।
त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे। भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए। पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन्। सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन्।
गोपाल राना बुटवलका प्रतिष्ठित होटल व्यवसायी हुन्। मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र बुटवलको ड्रिम इन्टरनेशनलका सञ्चालक रहेका राना पार्टीका निवर्तमान जिल्ला उपसचिव र हालका प्रदेश कमिटी सदस्य हुन्।
त्यस्तै उनी होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन्। युवा र जनजाती क्षेत्रबाट बलिया उम्मेदवारको रुपमा चर्चा गरिए पनि दुवै क्षेत्रको एउटा तप्काले भने भट्टराईलाई नै मेयरमा अगाडि सार्ने गरी भूमिका खेलिरहेको छ। यस हिसावले युवा र जनजाती क्षेत्र नै रानाका लागि बढी चुनौतीपूर्ण देखिन्छ।
अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए। त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमालेका बुटवलका नेता बाबुराम पन्थी बताउँछन्।
बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजार भन्दा बढी मतदाता थपिएका छन्। ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ। “कार्यकर्तापंक्तिमा बौद्धिक व्यक्तित्वलाई टिकट दिनुपर्ने मत धेरै छ, तर थपिएका मतदाताबारे पनि अध्ययन भैरहेको छ”–एमालेका एक युवा नेताले भने।
भट्टराई पार्टी पंक्तिमाझ बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् भने उनको सन्तुलित भूमिकालाई धेरैले मन पराउने उनलाई नजीकबाट चिन्नेहरु बताउँछन्। यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन्।
कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ। उनी अहिले पार्टीको बुटवल नगर सभापति छन्। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन्।
बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।







डिसी नेपाल








Facebook Comment