कांग्रेसको मतले चुनाव जित्नेमा कति विश्वस्त छन् प्रचण्ड ?

शरद रिजाल
३० चैत २०७८ ७:०७

काठमाडौं। आशन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले वडास्तरसम्मै तालमेल गर्ने निर्णय गरेको छ। गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजाने पाँच दलीय गठबन्धनको तयारी छ।

सबैले चासोका साथ हेरिएको भरतपुर महानगरपालिका समेत नेपाली कांग्रेसले माओवादीलाई दिने या नदिने अझै टुंगाेलागिसकेको छैन। माओवादीले भरतपुर महानगर पाएमा अघिल्लो निर्वाचनमा कांग्रेसको मतले मेयरमा विजयी भएकी प्रचण्डपुत्री रेणु दाहाल नै यसपटक पुनः दोहोरिने निश्चितप्राय छ।

चितवनको भरतपुर महानगर र प्रचण्डको निर्वाचन क्षेत्रनं ३ मा प्रचण्डले आफू र आफ्नो स्थान सुरक्षित गर्ने भगिरथ प्रयत्न गरेका छन्। उनले आफ्नो सिट सुरक्षित गर्न नेपाली कांग्रेसको मत लिएर चुनाव लड्ने हालसम्मको अबस्थाले संकेत गर्दछ।

केही समय अगाडि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजकि कार्यक्रमाम प्रचण्ड कहिल्यै पनि पराजित हुने चुनाव नलड्ने टिप्पणी गरेका थिए। उनले प्रचण्डतर्फ इंगित गर्दै जसरी भएपनि निर्वाचनमा विजयी हुने व्यक्ति भएको बताएका थिए।

प्रचण्ड निर्वाचन जित्न प्रयत्नशील रहन्छन् र त्यसका लागि ‘जे गर्न पनि’ पछि पर्दैनन् भन्ने आशय देउवाको थियो। कांग्रेसमा देउवाइतरका नेताहरु भने कुनै हालतमा भरतपुर महानगर नछोड्ने अडानमा छन् तर उनीहरुको जोडबल सभापति देउवाका अगाडि कति बलशाली हुन्छ त्यो भने आगामी दिनमा गठबन्धनबाट भरतपुरको मेयरको उम्मेद्वारले निर्धारण गर्ने छ।

चितवन कांग्रेस भरतपुर महानगर माओवादीले छोडेमा संघीय चुनावमा प्रचण्डलाई सघाउने उनीहरुको बटमलाइन छ। तर यी सबै आफ्नै कार्यकर्ताको माग र मनोभावनालाई लत्याउँदै देउवाले भरतपुर महानगर माओवादीलाई दिने तयारीमा रहेको स्रोतले बताएको छ। अब कांग्रेसको मत लिएर प्रचण्डको जित सुनिश्चित हुन्छ या कांग्रेसकै देउवाइतरको टिमले उनलाई असहयोग गर्ने हो त्यो भने यसै भन्न सकिने अबस्था छैन।

तर कांग्रेस चितवन नेतृत्वमा भने देउवा इतरकै टिमको बाहुल्य छ। सभापति राजेश्वर खनाल शेखर कोइराला पक्षधर हुन्। उनी कुनै हालतमा गठबन्धनले मेयर माओवादीलाई दिन नहुने पूर्ववत् अडानमा यथावत छन्।

पटक पटक पार्टीले भरतपुर छाड्न नहुने भन्दै नेतृत्वलाई राजधानीमा आएर ध्यानाकर्षण गराइसकेका छन्। एकातिर आफ्नै मागलाई पार्टी नेतृत्वले बेवास्ता गरेमा तिक्तता र अर्कोतिर अघिल्लो स्थानीय तहमा छोरी रेणुलाई जिताएर प्रचण्डले यूटर्न गरि एमालेसँग गठबन्धन गरि दिएको धोकाले चितवन कांग्रेसमा माओवादीप्रतिको तुस यथावत नै देखिन्छ। पार्टी केन्द्रको निर्देशनले मेयर छाड्न बाध्य चितवन कांग्रेसले आगामी संघीय र प्रदेश निर्वाचनमा माओवादीलाई भोट देला? यतिबेला गम्भीर प्रश्न खडा भएको छ।
यस्तो छ मतभार

चितवन कांग्रेस भरतपुर महानगर माओवादीले छोडेमा संघीय चुनावमा प्रचण्डलाई सघाउने उनीहरुको बटमलाइन छ। तर यी सबै आफ्नै कार्यकर्ताको माग र मनोभावनालाई लत्याउँदै देउवाले भरतपुर महानगर माओवादीलाई दिने तयारीमा रहेको सा्रेतले बताएको छ। अब कांग्रेसको मत लिएर प्रचण्डको जित सुनिश्चित हुन्छ या कांग्रेसकै देउवाइतरको टिमले उनलाई असहयोग गर्ने हो त्यो भने यसै भन्न सकिने अबस्था छैन।

गत निर्वाचनमा एमालेसहितको गठबन्धनबाट क्षेत्र नं ३ को उम्मेद्वार बनेका प्रचण्डले ४८,२७६ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी राप्रपा –कांग्रेसका बिक्रम पाण्डेले ३८,९३५ मतसहित दोश्रो भएका थिए।

उक्त निर्वाचन क्षेत्रमा समानुपातिक मतपरिणामलाई दृष्टिगत गर्दा गत निर्वाचनमा कांग्रेस र एमालेको मतभारमा उल्लेख्य फरक देखिँदैन। नेपाली कांग्रेसको २६,१३७ र एमालेको २४,१५५ छ भने माओवादीको २२,९८८ रहेको छ। एमाले र माओवादीको संयुक्त मतले विजयी बनेका प्रचण्डलाई यसपाली कांग्रेसको मतभारले एमाले र राप्रपाको गठबन्धन बने पनि विजयी बन्ने. संभावना त देखिन्छ।

उक्त क्षेत्रमा राप्रपाको मत बिक्रम पाण्डेले प्राप्त गरेको मतको तुलनमा समानुपातिक मत निकै कम देखिन्छ। उनको पार्टी तत्कालीन राप्रपा (प्रजातान्त्रिक)को मत ५,६३३ मात्रै छ। तर पटक पटक माओवादीबाट धोका पाएको चितवन कांग्रेसले यसपटक माओवादीप्रति कति इमान्दारिता प्रदर्शन गर्छ त्यो भने आगामी निर्वाचनको मतपरिणामले निक्र्याैल गर्ने छ।

के भन्छन् कांग्रेस नेताहरु ?

नेपाली कांग्रेस चितवनका एक स्थानीय नेताले भने पार्टीले यहाँको स्थितिलाई नदरअन्दाज गरि गठबन्धन गरे परिणाम गठबन्धनको पक्षमा नआउने ठोकुवा गरे। यहाँको स्थिति र सांगठनिक अबस्थालाई बेवास्ता गरि केन्द्रले गठबन्धन लाद्न खोजे बहुसंख्यक कार्यकर्ताको मनोभावनामा ठेस पुग्ने उनको ठहर छ।

नेपाली कांग्रेसको मतले निर्वाचन जित्नेमा आश्वस्त रहेका प्रचण्डलाई आगामी निर्वाचनमा चितवन कांग्रेसले प्रचण्डलाई पूर्ण सहयोग गर्छ वा अन्तरघात? यो प्रश्न हाललाई अनुत्तरित छ। निर्वाचन परिणाम पश्चात मात्रै यसको यर्थाथ अबस्था उजागर होला।

एकातिर चितवन कांग्रेसको इच्छाबिपरित केन्द्रको निर्देशनमा स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा प्रचण्डपुत्री रेणुलाई जिताउनुपर्ने अर्कोतर्फ निर्वाचन क्षेत्र नं ३ मा प्रचण्डलाई जिताउनुपर्ने बाध्यात्मक परिस्थितिमा कांग्रेसले प्रयोग गर्ने मताधिकार नै प्रचण्डको जित या हारको कारक बन्ने देखिन्छ।

तर कांग्रेस का प्रवक्ता डा.प्रकाशचरण महत भने भरतपुर महानगरमा माओवादीलाई दिने बिषयमा अहिल्यै कुनै निर्णय नभएको डिसी नेपाललाई बताए। उनले भने, ‘अहिल्यै यस बिषयमा कुनै निर्णय भएको छैन बाहिर आएका कुरा सत्य होइनन्। निर्णय भइनसकेको बिषयमा यसै भन्न सकिन्न।’

आगामी निर्वाचनमा चितवन कांग्रेसको मतले निर्वाचन जित्नेमा प्रचण्ड ढुक्क छन्? के चितवन कांग्रेसले केन्द्रको निर्देशन इमानदारितापूर्वक परिपालन गर्छ? भन्ने प्रश्नमा महतले त्यस बिषयमा अहिल्यै यसै भन्न नसकिने बताए। उनले आसन्न स्थानीय तहको निर्वाचनको सन्निकटमा भरतपुरको मेयरकै टुंगो गठबन्धनले नलगाइसकेको अबस्थामा आगामी संघ र प्रदेशको बिषयमा यसै भन्न नसकिने भन्दै उनी पन्छिए।

कांग्रेसकै सहमहामन्त्री बद्री पाण्डे भने निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित क्षेत्रका  कार्यकर्ताको मनोभावनालाई नेतृत्वले बुझिदिनुपर्ने बताउँछन्। उनले नीतिगत निर्णय भएपछि त्यसलाई पालना गर्नु दुबै पक्षको कर्तब्य हुने हुँदा चितवनको सन्दर्भमा निर्णय गर्दा कार्यकर्ताको मनोभावनालाई बुझेर केन्द्रले निर्णय गर्नेमा पाण्डे बिश्वस्त छन्।

हिजोको पीडा र चितवनका कार्यकर्ताहरुको मनोभावनालाई बुझेर निर्णय गर्नेमा उनी आशावादी छन्। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘तिक्तता भएको स्थानमा कार्यकर्ताको मनोभावनालाई निर्णय गर्नुपूर्व नै कदर गर्नु आबश्यक छ। नीतिगत निर्णयलाई भने कार्यकर्ताले मान्नुपर्छ। त्यसको निम्ति भने केन्द्रले मापदण्ड बनाएर मात्रै अगाडि बढ्छ।’ केन्द्रले निर्णय गरेपछि जस्तोसुकै स्थितिमा पनि कार्यकताले मान्नैपर्ने तर निर्णयपूर्व नै नेतृत्वले कार्यकर्ताको मनोभावनालाई बिचार गर्नुपर्ने उनको भनाइ छ।

आशावादी माओवादी

माओवादी केन्द्रका नेता राम कार्की भने कांग्रेस आफै भित्र बिभाजित मनस्थितिमा रहेको र प्रचण्ड जत्तिको राष्ट्रिय व्यक्तित्व उम्मेद्वार भएपछि बहुमतले सहयोग गर्ने बताउँछन्।

डिसी नेपालसँगको कुराकानीमा कार्कीले भने, ‘कांग्रेस भित्रैको एउटा पक्षले अर्को पक्षसँगको बिभाजित मानसिकताको कारणले असहयोग त गर्न सक्छ तर समग्रमा पार्टीको संस्थागत निर्णय पालना गर्छन नै। राष्ट्रिय व्यक्तित्व अध्यक्ष उम्मेद्वार भएपछि दाँया बाँया गर्दैन।’ प्रचण्डको राष्ट्रिय छविका कारण चितवन कांग्रेसले मत दिनेमा कार्की आश्वस्त छन्।

माओवादीका अर्का नेता हरिवोल गजुरेल पनि कांग्रेसले मत दिनेमा आश्वस्त छन्। उनले बिगतका तिक्तता बिर्सेर राष्ट्रिय नीति तथा कार्यक्रमलाई गठबन्धनमा आबद्ध सबैले मान्नुपर्ने उनको तर्क छ। चितवन कांग्रेसले पनि त्यसलाई अनुशरण गनर्मो उनी बिश्वस्त छन्।

गजुरेलले डिसी नेपालसँग भने, ‘केन्द्रीय नीति र कार्यक्रमलाई सबैले पालन गर्नैपर्छ। यो हिजोको जस्तो निर्वाचनको बिषय नै होइन, ओलीको प्रतिगमनकारी कदमको बिरुद्धमा संविधानको रक्षाको लागि बनेको गठबन्धन भएकाले चितवन कांग्रेसले पनि त्यसलाई परिपालन गर्ने छ।’

गठबन्धनको संस्थागत निर्णयलाई त्यसमा आबद्ध दल तथा नेताहरुले त्यसको म्याण्डेटलाई स्वीकार गर्नेमा उनी आशावादी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *