जसपाले नेपालगन्ज पनि खाेजेपछि बल्झियाे विवाद, गठबन्धनको बैठक बस्दै

डिसी नेपाल
७ वैशाख २०७९ ८:२८
136
Shares

काठमाडाैं। आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँडका लागि सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ। बैठक बिहान ११ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिबकरिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ। मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेकाे हाे।

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेकाे छैन। यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरकाे सिट दिने विषयमा छलफल भएकाे थियाे।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबी गरेकाे हाे। ११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खाेजेकाे हाे।

६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक-एक मेयर पाउने गरी सहमति जुटिसकेकाे बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.