बच्चाहरूको कलेजोमा रहस्यमय रोग, दर्जन देशमा १६९ केस, डब्लुएचओको चेतावनी
काठमाडौं । विश्व कोरोना महामारीबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । यही बीचमा अर्को रहस्यमय रोगले झस्काएको छ। बालबालिकामा यसका केस तीब्र रूपमा भेटिइरहेका छन्। हालसम्म १२ देशमा १६९ जनामा संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यसबारे अलर्ट जारी गरेको छ ।
डब्ल्यूएचओले शनिबार भनेको छ – ‘बालबालिकामा रहस्यमय हेपाटाइटिसका केसहरू तीव्र गतिमा बढिरहेको छ। जसका कारण एक बालकको मृत्यु भएको छ ।’ विश्व स्वास्थ्य संगठनले धेरै देशबाट प्राप्त तथ्यांकका आधारमा यो रहस्यमयी हेपाटाइटिस रोगबारे जानकारी दिएको हो । जसका कारण साना बालबालिकामा कलेजो सुन्निने गम्भीर समस्या देखिएको छ ।
डब्लुएचओका अनुसार अप्रिल २१ सम्म बेलायत, अमेरिका, स्पेन, इजरायल, डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड्स, इटाली, नर्वे, फ्रान्स, रोमानिया र बेल्जियममा यो रहस्यमय हेपाटाइटिसका केस दर्ता भएका छन् । १६९ केसहरू मध्ये, ११४ बेलायतमा मात्र रिपोर्ट गरिएको छ।
यो रहस्यमय हेपाटाइटिसका सबै केसहरू १ महिनादेखि १६ वर्षसम्मका बालबालिकामा भेटिएका थिए। यति मात्र होइन, यसबाट पीडित १७ बालबालिकाको कलेजोसम्म प्रत्यारोपण गर्नुपरेको थियो । उक्त रोगबाट कुन बच्चाको मृत्यु भएको भनने बारे भने संस्थाले बताएको छैन ।
डब्लुएचओले १६९ केसमध्ये ७४ वटामा एडेनोभाइरस नामको सामान्य रुघाखोकीको भाइरस भेटिएको जनाएको छ । परीक्षण गरिएका बालबालिकामध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्रममा १९ जना बालबालिकामा कोरोना र एडेनोभाइरस दुवै संक्रमण भेटिएको थियो ।
डब्ल्यूएचओले वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। उनको टोलीले बेलायती स्वास्थ्य अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको छ। यो समस्याका कारण धेरै बालबालिकाको कलेजो सुन्निने गरेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूले त्यहाँका डाक्टरहरूलाई यससँग सम्बन्धित केसहरू देखिए सतर्क रहन चेतावनी दिएका छन्। अमेरिकाले यो कोल्ड भाइरस हुनसक्ने आशंका गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment