टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनद्वारा राजीनामाको घोषणा
काठमाडौं । टाटा सन्सका अध्यक्ष (चेयरम्यान) एन. चन्द्रशेखरनले बुधबार आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले सन् २०२७ फेब्रुअरी २० मा आफ्नो वर्तमान कार्यकाल समाप्त भएपछि पुनः अध्यक्ष पदका लागि दाबी नगर्ने स्पष्ट पारेका हुन्।
चन्द्रशेखरनले विज्ञप्तिमा आफूले टाटा समूहमा आफ्नो व्यावसायिक जीवनको ४० वर्ष पूरा गरेको बताएका छन्। उनले भनेका छन्, “विगत एक दशकदेखि टाटा सन्सको नेतृत्व गर्न पाउनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो।”
उनका अनुसार सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टले सर्वसम्मतिले उनको आगामी पाँच वर्षका लागि कार्यकाल थप गर्न सिफारिस गरेका थिए। टाटा सन्सको ‘मनोनयन तथा पारिश्रमिक समिति’ र सञ्चालक समिति (बोर्ड) ले पनि यस प्रस्तावलाई अघि बढाएको थियो।
यद्यपि, २४ फेब्रुअरी २०२६ मा टाटा सन्स बोर्डसमक्ष यो प्रस्ताव राखिएपछि बोर्डका एक सदस्यले यसको समर्थन गरेका थिएनन्। चन्द्रशेखरनले सर्वसम्मति जुट्न नसकेका कारण आफूले त्यसबेला निर्णय सार्ने विकल्प रोजेको बताएका छन्।
“बोर्डको सो बैठक बसेको छ महिना बितिसकेको छ, तर अहिलेसम्म यस मुद्दामा कुनै निर्णय हुन सकेको छैन। टाटा सन्स एउटा धेरै ठूलो संस्था हो र कैयौँ महत्त्वपूर्ण रणनीतिक आयोजनाहरू निर्णायक चरणमा छन्। यस्तो अवस्थामा फेब्रुअरी २०२७ पछि समूहको नेतृत्व कसले गर्छ भन्नेमा चाँडै स्पष्टता हुनु आवश्यक छ,” उनले भनेका छन्।
चन्द्रशेखरनले बुधबार टाटा सन्स बोर्डलाई आफ्नो कार्यकाल सकिएपछि पुनः नियुक्तिका लागि आफू प्रस्तुत नहुने जानकारी गराएको बताएका छन्।
उनले नेतृत्व हस्तान्तरण सहज रूपमा हुन सकोस् भन्नका लागि बोर्डलाई चाँडै नयाँ उत्तराधिकारीको निर्णय गर्न आग्रहसमेत गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment