एउटै आमाको गर्भबाट एकैपटक जन्मिएका नौ बालबालिकाको १ वर्षपछि कस्तो छ अवस्था ?

डिसी नेपाल
२२ वैशाख २०७९ १३:३९
56
Shares

काठमाडौं । मालीमा एक महिलाले एकैपटक नौ सन्तान जन्माएको एक वर्ष पुगेको छ। ती बच्चाले पहिलो जन्मोत्सव मनाउँदै गर्दा तिनका बुवाले उनीहरू सबैको स्वास्थ्य राम्रो भएको बताएका छन्।

नौ वटा सन्तान जन्माएका हालिमा सिसे र एड्जुदान्त कादेर आर्बीले एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्वकीर्तिमान कायम गरेका थिए।

ती बालबालिकाको बिहीवार पहिलो जन्मदिन हो।

“अहिले उनीहरू सबै जना बामे सर्न थालेका छन्। कोही बस्न सक्छन्, कोही चाहिँ केही कुरामा समातेर टुकुटुकु हिँड्न सक्ने भएका छन्,” माली सेनामा रहेका आर्बीले भने।

उनीहरूको अझै पनि मोरोक्कोस्थित एउटा क्लिनिकमा हेरचाह भइरहेको छ। त्यही क्लिनिकमा उनीहरू जन्मिएका थिए।

आर्बीका अनुसार २५ वर्षीया आमा हालिमा सिसेको अवस्था पनि सन्तोषजनक छ।

“परिस्थिति सजिलो छैन तर राम्रो छ। कहिलेकाहीँ थकाइ लाग्छ तर सबै सन्तानको स्वास्थ्य राम्रो छ भन्ने कुराले केही राहत दिन्छ। हामी सबै थकान बिर्सिन्छौँ,” उनले बीबीसीसँग भने।

उनी छ महिनापछि भर्खरै आफ्नी तीन वर्षीया जेठी छोरी सौदालाई लिएर मोरोक्को फर्किएका छन्।

“म आफ्नो परिवारका सबै जनासँग फेरि भेट्न पाउँदा निकै खुसी छु।”

उनको आवासीय भवनमा बस्ने केही मानिस र नौ बच्चाको हेरचाह गर्ने नर्सको उपस्थितिमा ती बच्चाको जन्मदिन मनाउने आर्बीको योजना छ।

“यो पहिलो वर्ष निकै सुन्दर रह्यो। हामीले अनुभव गर्न लागेको यस क्षणलाई सधैँ सम्झिनेछौँ।”

यी नौ बालबालिकाले एकसाथ सबैभन्दा धेरै जीवित जन्मिएको नयाँ कीर्तिमान बनाएका छन्।

सन् २०२१ को मे महिनामा सन्तान जन्मिनुअघि सिसेलाई माली सरकारले विशेष स्वास्थ्योपचारका लागि मोरोक्को पुर्‍याएको थियो।

एकसाथ धेरै सन्तान जन्माउनु जोखिमपूर्ण हुन्छ। गर्भपतन कानुनी भएका देशहरूमा एक पटकमा चार वटाभन्दा बढी भ्रूण भएका महिलाहरूलाई केहीको पतन गर्न सुझाइन्छ।

एकसाथ धेरै भ्रूण रहँदा बच्चा समय नपुग्दै जन्मिने र त्यसरी अगावै जन्मिएका बच्चाहरूमा सेप्सिस, सेरब्रल पोल्सीजस्ता स्वास्थ्य समस्या देखिने जोखिम रहन्छ।

सिसे र उनका सबै सन्तान अहिले “चिकित्सकीय सेवासहितको आवास”मा बसिरहेका छन् जुन क्यासाब्लान्कास्थित आइन बोर्जा क्लिनिकका मालिकहरूको स्वामित्वमा छ।

सिसेले आफ्ना सबै बच्चाहरूलाई त्यहीँ जन्म दिएकी हुन्।

“यहाँ मेरी श्रीमतीबाहेक नर्सहरू छन् जसले बच्चाहरूको हेरचाहमा सहयोग गर्छन्,” आर्बीले भने।

“क्लिनिकले उनीहरूलाई मेन्यू दिएको छ जसमा उनीहरूलाई दिउँसो र राति उपलब्ध खानेकुराहरूको जानकारी छ,” उनले थप जानकारी दिए।

नौ सन्तानमध्ये पाँच छोरी र चार छोरा हुन्।

आमाले गर्भधारण गरेको ३० हप्तामा उनीहरू जन्मिएको मालीकी स्वास्थ्यमन्त्री फान्ता सिबीले बताइन्। आइन बोर्जा क्लिनिकका चिकित्सकीय निर्देशक प्राध्यापक युस्सेफ अलाओइले समाचारसंस्था एएफपीलाई बताएअनुसार जन्मिँदा उनीहरूमध्ये अधिकांशको तौल ५०० ग्रामदेखि एक केजीसम्म थियो।

उनीहरूलाई शल्यक्रिया गरेर गर्भबाट निकालिएको थियो।

छोराहरूको नाम मोहम्मद छैटौँ, ओमर, एल्हाद्जी र बाह राखिएको छ भने छोरीहरूको कादिदिया, फातौमा, हवा, अदामा र औमौ राखिएको छ।

बुवा आर्बीका अनुसार हरेक सन्तानको बानीबेहोरा फरक छ।

“उनीहरू सबैको चरित्र फरक छ। कोही शान्त स्वभावका छन्। कोही हल्ला गर्छन् र कोही धेरै रुन्छन्। कसैलाई काखे बानी लागेको छ, सधैँ बोकिरहनुपर्छ। उनीहरू फरक स्वभावका छन् यो नितान्त स्वाभाविक हो।”

आर्बीले माली सरकारलाई धन्यवाद व्यक्त गरेका छन्।

“माली सरकारले आमा र नौ बालबच्चाको हेरचाह र उपचारका लागि आवश्यक सबै सहयोग गरेको छ। यो सहज काम होइन तर सुन्दर र सान्त्वना दिने खालको छ,” उनले भने।

सिसे र उनका बालबच्चा जन्म भएको केही सातापछि माली फर्किने अपेक्षा गरिएको थियो। तर अहिलेसम्म उनीहरू घर फर्किन पाएका छैनन्।

यद्यपि उनीहरू आफ्नो ठाउँमा चर्चित भएको आर्बी ठान्छन्।

“हाम्रा परिवारजन, इष्टमित्र, छरछिमेकी र पूरा देश नै बच्चाहरूलाई प्रत्यक्ष हेर्न उत्सुक छन्।”

सन्तान जन्माउन चाहने दम्पतीहरूका लागि उनी एक सन्देश दिन्छन्: “अहिलेसम्म सन्तान नभएकाहरूमाथि ईश्वरको आशीर्वाद रहन्छ भन्ने आशा छ। उनीहरूसँग पनि हामीसँग झैँ सन्तान हुनेछन्। यो अनुभूति वास्तवमै सुन्दर र अमूल्य छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *