इरानी आक्रमणको जोखिमपछि ट्रम्पले गुपचुप विमान बदलेको दाबी, क्याटरिङ ट्रक प्रयोग गरी अर्को विमानमा लगिएको रिपोर्ट
काठमाडौं । अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा आयोजित नेटो शिखर सम्मेलनबाट फर्कने क्रममा इरानबाट हुन सक्ने सम्भावित आक्रमणको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै गुप्त रूपमा विमान परिवर्तन गरेका थिए।
‘वासिङ्टन पोस्ट’ को रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति टेलिभिजन क्यामेराहरूको अगाडि ‘एयर फोर्स वन’ विमानमा चढेका थिए। तर, पछि उनलाई सुटुक्क एउटा अग्लो ‘एयरपोर्ट क्याटरिङ ट्रक’ मा सारेर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। यस घटनाक्रमबारे विमानमा सवार पत्रकारहरू र ह्वाइट हाउसका केही कर्मचारीहरू समेत अनभिज्ञ थिए।
अमेरिकी गुप्तचर निकायहरूले ट्रम्पको विमानमा मिसाइल प्रहार गर्ने इरानको गम्भीर र भरपर्दो धम्कीबारे थाहा पाएको अधिकारीहरूले ‘सीबीएस न्युज’ लाई बताएका छन्। यद्यपि, ह्वाइट हाउसले यो गोप्य विमान परिवर्तनको आधिकारिक पुष्टि भने गरेको छैन। यसअघि अङ्कारामा भएको शिखर सम्मेलनका क्रममा ट्रम्पले आफू इरानको ‘नम्बर वान निशाना’ रहेको बताएका थिए।
अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि भएका वार्ताहरू असफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरेको भोलिपल्ली यो गुप्त अपरेसन चलाइएको थियो।
ट्रम्प कतारले उपहारस्वरूप दिएको नयाँ ‘बोइङ ७४७-८’ विमानबाट टर्की पुगेका थिए। तर, उनले ‘पुराना दिनको सम्झनाका लागि’ पुरानै ‘एयर फोर्स वन’ विमानबाट फर्कने घोषणा गरेका थिए।
गत जुलाई ८ मा अङ्कारा विमानस्थलमा उनी राष्ट्रपतिको विमानमा चढेको दृश्य कैद गरिएको थियो। तर, वासिङ्टन पोस्टका अनुसार उनलाई क्याटरिङ ट्रकको मद्दतले गोप्य रूपमा सानो ‘सी-३२ए’ सैन्य विमानमा लगिएको थियो। यो विमान सामान्यतया उपराष्ट्रपतिका लागि प्रयोग गरिने परिमार्जित ‘बोइङ ७५७’ हो। उक्त क्याटरिङ ट्रकलाई ट्रम्प विमानमा चढेको विपरीत दिशाबाट विमानको सतहसम्म माथि उठाइएको थियो।
उडान सामान्य रहेको देखाउनका लागि रक्षामन्त्री पिट हेगसेथ बाहिरी सिँढीको प्रयोग गर्दै अलग्गै रूपमा सी-३२ए विमानमा चढेका थिए। यसैबिच, एयर फोर्स वनभित्र रहेका पत्रकारहरू र ह्वाइट हाउसका कर्मचारीहरूलाई भने आफ्ना झ्यालका पर्दाहरू बन्द गर्न भनिएको थियो। राष्ट्रपति अब उक्त विमानमा छैनन् भन्ने कुरा उनीहरूलाई पत्तै थिएन।
त्यसपछि ट्रम्प बेलायत हुँदै अमेरिकाका लागि प्रस्थान गरे, जहाँ ‘आरएएफ मिल्डेनहल’ मा उनलाई पुरानै एयर फोर्स वन विमानबाट बाहिर निस्कँदै गरेको देखिएको थियो। उनी सी-३२ए बाट पुनः कसरी पुरानो विमानमा फर्किए भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले यी रिपोर्टहरूको सिधै पुष्टि वा खण्डन गरेनन्। तर, उनले नयाँ एयर फोर्स वन एक अत्याधुनिक विमान” भएको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि पूर्ण सुरक्षा उपायहरूले सुसज्जित रहेको बताए। सीबीएस न्युजका अनुसार अमेरिकी गुप्तचर एजेन्सीहरूले ट्रम्प वा उनको विमानमाथि हुन सक्ने विशिष्ट आक्रमणको चेतावनी पहिले नै दिएका थिए।
यसअघि ‘न्युयोर्क टाइम्स’ ले पनि कतारद्वारा उपहार दिइएको जेट विमानको सुरक्षा चिन्तालाई लिएर समाचार प्रकाशित गरेको थियो। जसमा ‘सिक्रेट सर्भिस’ ले ट्रम्पलाई नेटो सम्मेलनबाट फर्कँदा विमान बदल्न आग्रह गरेको उल्लेख थियो। त्यसको प्रतिक्रियास्वरूप सरकारी निकायहरूले सो पत्रिकाका केही पत्रकारहरूलाई सोधपुछका लागि बोलाएका थिए। न्याय मन्त्रालयले गैरकानुनी रूपमा विवरणहरू बाहिरिएको (लीक भएको) विषयमा छानबिन भइरहेको बीबीसीलाई बताएको छ।
अमेरिकाले राष्ट्रपतिका लागि बोइङ ७४७-८ विमान तयार पार्न ४० करोड डलर खर्चिसकेको छ। सीबीएस न्युजका अनुसार पुरानो एयर फोर्स वनमा आफूतिर आउने मिसाइलहरूलाई निष्कृय पार्ने ‘लेजर प्रविधि’ रहेको छ। तर, कतारको विमानमा कस्ता सुरक्षा प्रणालीहरू जडान गरिएका छन् भन्ने कुरा अझै स्पष्ट छैन।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सीबीएस न्युजलाई दिएको बयानमा भनेकी छन्, ‘नयाँ एयर फोर्स वन राष्ट्रपतिको यात्राका लागि पूर्ण रूपमा सुरक्षित छ, तर आउँदो हिउँदमा यसमा केही अतिरिक्त सुधार तथा अपग्रेडहरू गरिनेछ, जसलाई पूरा हुन करिब एक महिना लाग्नेछ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment