युक्रेनमा आक्रमणभन्दा ठिक अगाडि पुटिन र जिनपिङबीच भएको थियो यस्तो डील
काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ । यसैबीच बेलायत र अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।
पश्चिमा देशका सबै कम्पनीले रुसबाट आफ्नो व्यापार फिर्ता लिएका छन् । केही चिनियाँ कम्पनीहरूले पनि यस दिशामा कदम चालेका छन्। यसका बाबजुद पनि दुई देशबीचको आर्थिक सम्बन्ध बलियो छ ।
२४ फेब्रुअरीदेखि चीनले पश्चिमी देशहरूबाट पुटिनको निन्दा गर्न र अमेरिकासँगै रुसमाथि आर्थिक प्रतिबन्ध लगाउन दबाब झेलिरहेको छ। यो दबाबमा चीन अझै झुकेको छैन ।
यद्यपि, केही प्रमुख चिनियाँ कम्पनीहरू जस्तै ड्रोन निर्माता डीजेआई र टेलिकम्युनिकेसन दिग्गज हुवावेले रूसमा बढ्दो व्यापार जोखिमको कारणले रुससँगको व्यापार फिर्ता लिएका छन्।
चीनको भुक्तानी प्रणाली युनियनपेले पनि प्रतिबन्धित रुसी बैंकहरूलाई कार्ड जारी गर्न बन्द गरेको छ।
यससँगै चिनियाँ अधिकारी र कम्पनीहरूले रुसमा पश्चिमी कम्पनीहरूको निकासीले सिर्जना गरेको आर्थिक शून्यतालाई चासोका साथ हेरिरहेका छन्।
रुस र चीनबीचको व्यापार र चीनमा रुसी ग्यासको निर्यातमा पनि निरन्तर वृद्धि भइरहेको छ ।
युक्रेन युद्धका कारण बदलिएको विश्वव्यापी आर्थिक तथा वित्तीय अवस्थालाई ध्यानमा राख्दै प्रारम्भिक सामन्जस्यपछि दुई देशबीचको आर्थिक सम्बन्ध सुमधुर रहने यसले सङ्केत गर्छ ।
मार्च ३ तारिखमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको समाचार अनुसार चीन समर्थित एसियाली इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले युक्रेन युद्धका कारण रुस र बेलारुससँग सम्बन्धित सबै व्यापारिक गतिविधिहरू निलम्बन गरी यसको समीक्षा गरिरहेको छ ।
ब्रिक्स राष्ट्रहरू (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) द्वारा स्थापना गरिएको नयाँ विकास बैंकले पनि सोही दिन यस्तै वक्तव्य जारी गरेको थियो।
यो बयानमा अनिश्चितता र प्रतिबन्धहरूलाई ध्यानमा राख्दै “रूसमा सबै नयाँ लेनदेनहरू निलम्बन गर्ने” भनिएको छ।
विश्वको सबैभन्दा ठूलो नागरिक ड्रोन बनाउने चिनियाँ कम्पनी डीजेआईले अप्रिल २६ मा रूस र युक्रेनमा आफ्ना सबै गतिविधिहरू स्थगित गर्ने घोषणा गरेको थियो।
डीजेआईले यो कदमको लागि विभिन्न क्षेत्रहरूमा सञ्चालन गर्न पर्याप्त अनुमतिहरूको अभावलाई कारण देखाएको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार डीजेआईलाई रुसी सेनालाई सहयोग गरेको आरोप लगाइएको छ र युरोपेली खुद्रा विक्रेता मिडियामार्क्टले प्रतिबन्ध लगाएको छ।
यसअघि अमेरिकाले सिनजियाङ प्रान्तमा मुस्लिम अल्पसंख्यकहरूको खोजीमा संलग्न भएको आरोपमा डिजेआइमाथि प्रतिबन्ध लगाएको थियो।
जसका कारण २०२१ मा डिजेआइ को विश्वव्यापी बजार हिस्सा ७४ प्रतिशतबाट ५४ प्रतिशतमा झरेको थियो।
नेटइज आइटी ब्लगर Amtbbs.org ले मस्को टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै अप्रिल १८ मा हुवावेले अमेरिकी प्रतिबन्धहरूबाट बच्न नयाँ अर्डरहरू रोकेको र रूसमा रहेका आफ्ना कर्मचारीहरूलाई अनिश्चितकालीन बिदामा पठाएको जनाएको छ ।
हुवावेबे जासुसीदेखि लिएर अन्य सबै आरोपका कारण अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ।
विश्वको सबैभन्दा ठूलो कार्ड जारी गर्ने चिनियाँ भुक्तानी प्रणाली युनियनपेले केही समयदेखि रुसमा आफ्नो व्यवसाय विस्तार गरिरहेको थियो। तर अप्रिलको मध्यमा, युनियनपेले रूसी बैंकहरूलाई कार्ड जारी गर्न बन्द गर्यो।
एक चिनियाँ ब्लगरले एक अज्ञात रूसी समाचार रिपोर्टलाई उद्धृत गर्दै भने, “चिनियाँ भुक्तानी प्रणालीले नयाँ प्रतिबन्धहरूको जोखिमका कारण प्रमुख रूसी बैंकहरूसँग सहकार्य गर्ने जोखिम लिएको छैन। निर्णयको बारेमा जानकारी गराइएको छ।”
अप्रिल १३ मा, रुसको राज्य-संचालित अखबार स्पुतनिकको चिनियाँ भाषाको संस्करणले अमेरिकी कार्ड कम्पनी भिसा र मास्टरकार्डले रुसमा काम बन्द गरेपछि युनियनपे कार्डहरूको माग उल्लेखनीय रूपमा बढेको बताएको छ।
करिब ५ लाख युनियनपे कार्ड जारी गरिएको बताइएको छ, जुन अघिल्लो मार्चको तुलनामा १० गुणा बढी हो।
चिनियाँ सरकारसँग सम्बन्धित समाचार आउटलेट गुआन्चाका टिप्पणीकार शिफाङ सुओले स्पुतनिकको आलोचना गर्दै युनियनपेले कार्ड जारी गर्न बन्द गरेको र युनियनपेले अझै पनि प्रतिबन्धित नभएका बैंकहरूसँग काम गरिरहेको बताए ।
उनले भने “सम्बन्धित पक्षहरूले रुसमाथि लगाइएको प्रतिबन्धलाई रोक्नको लागि विशेष योजना बनाएका छन्।”
चिनियाँ अधिकारी र सञ्चारमाध्यमहरूले पनि पश्चिमी देशहरूको आर्थिक प्रतिबन्धलाई चिनियाँ कम्पनीहरूका लागि अवसरका रूपमा हेरिरहेका छन्।
रुसका लागि चिनियाँ राजदूत झाङ हानहुईले मार्च २२ मा स्थानीय व्यापारीहरूसँगको भेटमा चिनियाँ व्यवसायहरूलाई रूसी बजारमा सिर्जना भएको शून्यतालाई भर्न “वर्तमान संकटमा महत्वपूर्ण अवसरको सदुपयोग गर्न” आग्रह गरे।
निजी स्वामित्वको मिडिया कम्पनी नेटइजका अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ टोङ्ग्यान टियानसियाले एक अज्ञात रूसी विशेषज्ञलाई उद्धृत गर्दै भने कि चीनले क्रस-बोर्डर इन्टर-बैंक भुक्तानी प्रणाली (सिप्स) लाई विस्तार गर्न सक्छ, जुन युआनमा आधारित एकीकृत अन्तर्राष्ट्रिय सम्झौता र क्लियरिङ प्रणाली हो। र, रुसको सदस्यताले यसलाई स्विफ्टसँग बराबरीमा लड्ने अवसर दिन सक्छ।
हालै पश्चिमी सञ्चारमाध्यममा केही रिपोर्ट आएका छन् जसमा चीनले ऊर्जा क्षेत्रका आफ्ना तीन ठूला कम्पनी चाइना नेशनल अफशोर आयल कर्पोरेशन, चाइना नेशनल पेट्रोलियम कर्पोरेशन र सिनोपेकलाई रुससँगको व्यापारिक सम्बन्धको समीक्षा गर्न भनेको छ ।
तर वित्तीय क्षेत्रसँग सम्बन्धित समाचार दिने स्वतन्त्र समाचार आउटलेट Caus.com ले मार्च २२ मा समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै लेखेको छ कि यी तीन कम्पनीले रुसको सखालिन-१ प्राकृतिक ग्यास निर्यात परियोजनामा शेलको शेयर किन्न वार्ता सुरु भएको छ ।
क्विङहाई रेडियो र टेलिभिजन स्टेशनको अन्तर्राष्ट्रिय मामिला ब्लगले यस मुद्दालाई सावधानीपूर्वक हेरेको छ किनभने ब्लगले सम्भावित ठूलो नाफाका साथै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा चीनको हिस्सा बढाउने अवसर पनि उल्लेख गरेको छ।
अर्कोतर्फ, साउथ चाइना मर्निङ पोस्टले सन् २०२१ को पहिलो चार महिनाको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा रुसले चीनलाई ६० प्रतिशत बढी ग्यास निर्यात गरेको जनाएको छ ।
एससीएमपीका अनुसार युक्रेन युद्धअघि फेब्रुअरीमा पुटिन र सी जिनपिङबीच भएको भेटमा चीन र रुसले ११७.५ बिलियन अमेरिकी डलरको ऊर्जा क्षेत्रमा सम्झौता गरेका थिए।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले चिनियाँ भन्सार विभागको तथ्यांक साझा गर्दै सन् २०२२ को पहिलो त्रैमासिकमा चीन र रुसबीचको व्यापार २८.७ प्रतिशतले बढेको जनाएको छ । तर, पहिलो दुई महिनामा व्यवसाय वृद्धिदर ३८ दशमलव ५ प्रतिशतले घटेको छ ।
पश्चिमी मुलुकहरूले नाकाबन्दी लगाएपछि प्रारम्भिक तहको मेलमिलापले व्यापार वृद्धिदरमा सुस्तता आएको र यो अस्थिरता केही समयमै अन्त्य हुने अखबारले विश्लेषकहरूलाई उद्धृत गर्दै लेखेको छ ।
चीन-रुस क्षेत्रीय आर्थिक अनुसन्धान संस्थानका अध्यक्ष सोङ कुईले ग्लोबल टाइम्सलाई भने, “यस वर्ष पनि चीन र रुसको व्यापार बलियो रहनेछ र एक ट्रिलियन युआनभन्दा माथि जानेछ।”







डिसी नेपाल







Facebook Comment