काठमाडौँ महानगरपालिकाको १६२ पदमा ८५९ जनाको उम्मेदवारी

डिसी नेपाल
१३ वैशाख २०७९ ११:४७
8
Shares

काठमाडौँ। प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेद्वारी परेको छ। स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा उम्मेद्वारी दर्ता भएको हा । यसमा एक पदको प्रमुखका लागि ५६ जना र एक पदकै उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ।

५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराउनुभएको छ । ५६ जनामध्ये ८ जना महिला हुन्। उपप्रमुख पदमा उम्मेदारी दिने ३३ जनामध्ये १४ जनाले दलकातर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गर्नुभएको छ । ३१ जना उपप्रमुखका उम्मेद्वारमध्ये १३ जना महिला हन्।

मुख्य निर्वाचन कार्यालय, काठमाडौँका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठकाअनुसार काठमाडौँ महानगरका ३२ वडाका ३२ अध्यक्ष पदमा २२१ जनाको उम्मेदवारी परेको छ । यसैगरी, ६४ जना वडा सदस्य पदका लागि ३१० जना, ३२ जना महिला सदस्य पदका लागि १४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराएका छन्।

स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम चलेको थियो । यसअन्तर्गत पहिलो दिन प्रमुख पदका लागि १६ जनाले र उपप्रमुख पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए।

देशभरका ६ वटा महानगरमा १४६ जनाबाट प्रमुख पदका लागि उम्मेदवारी परेको छ । यसमा काठमाडौँ महानगरमा ५६ जनाको, भरतपुर महानगरमा ३० जनाको, पोखरामा २४ जनाको, ललितपुर महानगरमा १३ जनाको, वीरगञ्जमा १२ जनाको र विराटनगर महानगरमा ११ जनाको उम्मेदवारी छ ।

निर्वाचन आयोगकाअनुसार, उपप्रमुख पदमा काठमाडौँमा ३१ जना, भरतपुरमा १३ जना, पोखरा र विराटनगरमा ९/९ जना र ललितपुरमा ३ जनाको उम्मेदवारी परेको छ । वीरगञ्ज महानगरमा उपप्रमुख पदका लागि कसैको पनि उम्मेदवारी परेन ।

प्रमुख पदका लागि सत्तारुढ गठबन्धनकातर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन्। यसैगरी एमालेबाट प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलको उम्मेदवारी परेको छ। राप्रपाबाट प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनिता मगैया, विवेकशील साझा पार्टीबाट प्रमुखमा समीक्षा बास्कोटा र उपप्रमुखमा कीर्ति (कंसाकार) तुलाधरको उम्मेदवारी परेको छ।

यसै गरी सुमन सायमी, बालेन शाहसहित ३५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.