हारबाट जोगियो नेपाल

डिसी नेपाल
१५ जेठ २०७९ ९:१२
1.1k
Shares

काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २-२ को बराबरीमा रोकिएको छ। नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिताअघि अभ्यासका लागि कतार पुगेको थियो। कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट जोगिएको हो।

पहिलो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल २-० ले पछि परेको थियो। ४४औं मिनेटमा अग्रता लिएको टिमोर लिस्टेले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पार्यो।

५१ र ८४ औं मिनेटमा गोल गर्दै नेपाल खेलमा फर्किएको थियो।

कुवेतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए । उनले स्ट्राइकर नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी दिएका थिए।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा सेवा सुबिधाको माग राख्दा प्रशिक्षक अल्मुताइरीले अपमानजनक व्यहार गरेको भन्दै अञ्जन विष्ट, विमलघर्ती मगर, सुजल श्रेष्ठलगायत १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए।

नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्नेछ । नेपाल कतारबाटै कुवेत प्रस्थान गर्नेछ। समूह ‘ए’ मा रहेको नेपालले ८ जुनमा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ।

प्रत्येक समूहको विजेताका साथै उपविजेता मध्येको उत्कृष्ट पाँच टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *