मकवानपुर गोल्डकप आजबाट, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्ने

डिसी नेपाल
१९ जेठ २०७९ ९:३६
40
Shares

मकवानपुर। स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजदेखि हेटौंडामा हुँदैछ। मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए। यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन्।

प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र बाग्मती युवा क्लब सर्लाही भिड्ने छन्।

प्रतियोगितामा नव जनजागृति र बाग्मतीसँगै विभागीय क्लबह नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेका थिए।

प्रतियोगिताका लागि करिब एक करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव सुवेदीले बताए। बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नेछन् । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए। अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन्।

प्रतियोगिता हेर्नका लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *