कर्णाली र सुदूरपश्चिम जोड्ने दाेस्राे पक्की पुल तयार
सुर्खेत। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ। सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको हो।
निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ।
५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ। अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ। कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो। यो पुलको ९५ प्रतिशत काम सकिएको छ।
केही वर्ष अघिदेखि दैलेख-अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठबिस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्यपहाडी राजमार्गमा पक्की पुल बनेको थियो।
उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो। यसअघि कर्णाली चिसापानीमा रहेको कर्णाली पुलले मात्रै सुदूरपश्चिमलाई सडकमार्फत् बाँकी नेपालसँग जोड्दै आएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment