प्रधान सेनापति शर्मा सिरियामा, नेपाली शान्ति सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान
काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन् । संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकनका लागि उनी सिरिया पुगेका हुन् । उनले बुधबारबाट यूएनको ‘डिसइन्गेजमेन्ट अबजर्भर फोर्स मिसन’ सिरियाको अवलोकन थालेका हुन् । प्रधान सेनापति शर्माले बिहीबार उक्त मिसनअन्तर्गतको सुरक्षा पोस्टहरूको भ्रमण गरे ।
भ्रमणको क्रममा टोलीले माउन्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेडक्वाटर ईन्फेन्ट्री सपोर्ट युनिट दसौं डफ्फाको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ । उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे समेत शर्माले जानकारी लिएका थिए । सोही अवसरमा शर्माले उक्त युनिटमा उल्लेखनीय कार्य गर्ने चार नेपाली शान्ति सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरे ।
शर्माले फोर्स हेडक्वाटरको इन्फेन्ट्री सपोर्ट युनिटका सकलदर्जालाई सम्बोधन गर्दै भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्त्वपूर्ण स्थानको रुपमा रहेको माउन्ट हर्मन ईलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र यूएनको विश्वसनीयता बढाएकोमा धन्यवाद दिए । शर्मा लेवनान हुँदै सिरिया गएका हुन् । अमेरिकाको पाँच दिने भ्रमणका लागि उनी असार १३ मा अमेरिका जाने कार्यक्रम छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment