पृथ्वी राजमार्ग सञ्चालन गर्न कृष्णभीरमा नयाँ ट्र्याक खोलिने

डिसी नेपाल
१६ भदौ २०८३ २०:५९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णभीर माथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचारू गर्ने निर्णय गरेको छ। राजधानीसँगको आपूर्ति शृङ्खला र विपद् प्रभावित क्षेत्रको यातायात पुनर्स्थापना गर्न मन्त्रालयमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले कृष्णभीरमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने तय गरेको छ। नयाँ ट्र्याक खोल्ने कार्यसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कार्यसमेत सँगसँगै अघि बढाइने मन्त्रालयले जनाएको छ।

तत्कालीन सडक सञ्चालनसँगै कृष्णभीरको पहिरोको दीर्घकालीन समाधानका लागि टनेल (सुरुङमार्ग), सोइल नेलिङ तथा सिट पाइललगायतका प्राविधिक विकल्पहरूबारे सडक विभागले आवश्यक अध्ययन गर्नेछ।

यस्तै, कृष्णभीरको स्थायी विकल्पका रूपमा सुरुङमार्ग वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षभित्रै वैकल्पिक सडकको व्यवस्था गर्ने मन्त्रालयको तयारी छ।

यी सम्पूर्ण विकल्पहरूको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउनेछ। यसका लागि आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच छिट्टै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *