एघार महिनामा ४६ लाख ५३ हजार ग्राम सुन भित्रियो

डिसी नेपाल
१० असार २०७९ ११:०२

काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो।

पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो। आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपाल भित्रिएकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ। विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो।

बितेको एघार महिनामा नेपालले तीन देश– युनाइेटड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात गरेको छ।

नेपालमा सबैभन्दा बढी सुन युएईबाट आउने गरेको छ । युएईबाट चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ।

सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँको सुन नेपाल आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *