आयआर्जन र वन संरक्षण अभियान, ३० हजार परिवारलाई ५० लाख बिरुवा
पाँचथर। जिल्लामा झण्डै ३० हजार किसानले आयआर्जन र पर्यावरण संरक्षणका लागि करिव ५० लाख बिरुवा रोपेका छन्। यो पछिल्लो समय वन संरक्षणका लागि राम्रो कदमका रुपमा हेरिएको छ।
चार दशकदेखि निरन्तर बृक्षारोपण गर्दै आएको जिल्ला वन कार्यालयले कृषक, सामुदायिक र कबुलयती बन समूहको मागअनुसार नर्शरीमा बिरुवा उत्पादन गरिरहेको छ। र, वर्षेनी बिरुवाको माग बढ्दो रहेको पाइन्छ।
पानी साज, तेजपता, लामपाते, कागती, ओखर, अम्बा, सुन्तोला, रुद्राक्ष, बडहर, कपुर, खयर, लप्सी, रिठ्ठा, कल्की फुल, इपिल इपिल, खन्यु, टाँकी, बकाइनो, निमारोसमेतका दुई दर्जन बढी काठ, बुट्यान, फलफुल र घाँसका बिरुवा वन कार्यालयले उत्पादन गरिरहेको वन कार्यालयका अधिकृत लिला बिष्टले बताए।

अधिकृत बिष्टका अनुसार सामुदायिक र निजी वन क्षेत्रमा कृषकहरुको सचेतनाकै कारण पछिल्लो समय बृक्षारोपणले अभियानकै रुप लिएको छ। उनले भने, ‘कृषकस्तरमा माग अधिक छ, मागअनुसार कार्यालयले बिरुवा उपलब्ध गराउन सकेको छैन।’
पछिल्लो समय काठको लागि टिक र पाउलोनियाजस्ता बिरुवाको माग भइरहेकोले त्यस्ता बिरुवा उत्पादन गर्न पनि कार्यालयले ध्यान दिनु पर्ने फिदिम–१ का स्थानीय अभियन्ता सुबराज थापाको माग छ।
कृषकहरु काठ र दाउराको लागि साज, पानीसाजजस्ता बिरुवा रोप्छन् भने सामुदायिक वनहरुले तेजपता, ओखर, रुद्राक्ष, कपुरजस्ता बिरुवा माग गर्छन् । बिशुद्ध कृषिमा आवद्ध कृषकहरु घाँसका लागि इपिल इपिल, बडहरु, खयर, टाँकीजस्ता बिरुवा माग गर्दै आएको वन कार्यालयका नशरी व्यवस्थापक प्रेम तामाङले डिसी नेपालसित बताए।

अमिलो जातका कागती, सुन्तला, भोगटेजस्ता बिरुवा वन कार्यालयबाट लगेर रोप्दै केही आयआर्जन गर्न थालेका कृषकहरु पनि भेटिने गरेका छन्। फिदिम– २, साम्दिनका कृषक भवानी काफ्ले वन कार्यालबाट आफूले लगेर रोपेको सुन्तला र कागती फल्न थालेकोमा खुसी व्यक्त गर्छन्।
वन कार्यालयले पछिल्लो समय वातावरणमा आएको असन्तुलन नियन्त्रण गर्न पनि नागरिकहरुलाई वन संरक्षण र बृक्षा रोपणमा सचेतना अभियान नै सञ्चालन गरिरहेको कार्यालयका अधिकृत बिष्टको भनाइ छ।







डिसी नेपाल







Facebook Comment