थानकोटमा १७ वर्षीय किशोरी बलात्कृत, आरोपी पक्राउ
काठमाडौं । कक्षा १२ मा पढ्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक ट्रिपर चालक पक्राउ परेका छन् । दोलखाबाट काठमाडौ आएकी उनलाई ट्रिपर चालकले थानकोट पुर्याएर बलात्कार गरेका थिए ।
‘एक १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका ८ का ३२ वर्षीय ज्ञान बहादुर नेपालीले बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले भने ।
उनका अनुसार शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्याएर राति करिव १० बजे टिपरभित्रै बलात्कार गरेका थिए । ‘किशोरी काठमाडौंको गौशालामा बसेर बढ्दै काम पनि गर्छिन् । उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्याएर बलात्कार गरेको उजुरी छ’, एसपी मैनाली भने ।
नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरी रोकी राखेको दोलखाबाट काठमाडौं आएको रा १ ख २७३४ नम्बरको टिपर थानकोटमा तेल हालेर गौशाला लगिदिन्छु भन्दै चालकले उनलाई त्यहाँ लगेका थिए ।
निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरेर गाडीको सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए । सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको किशोरीलाई बलात्कार गरेको आरोप नेपालीलाई लागेको छ । ‘अन्य विषयमा अनुसन्धान भैरहेको छ,’ एसपी मैनालीले भने ।
उनका अनुसार थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसुती गृह अस्पताल थापाथली लगेको थियो । बलात्कारपछि फरार भएका चालकलाई कलंकीबाट पक्राउ गरिएको हो ।















Facebook Comment