नयाँ प्रविधिको प्रयोगबाट कारबाहीसँगै राजस्व सङ्कलनमा वृद्धि
महोत्तरी। ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ।
मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो।
यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ। “हामीले २०७८ फागुनदेखि ‘सिसीटिभी विथ राडर गन’ प्रयोगमा ल्यायौँ, यसले विगत आर्थिक वर्ष २०७७/७८ को तुलनामा कारबाही सङ्ख्यामा २२५ र राजस्व सङ्कलनमा २२३ प्रतिशत वृद्धि ल्यायो”, कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले भन्नुभयो, “विगतको ‘हैण्डहेल्ड राडर गन’ भन्दा पछिल्लो प्रविधि प्रयोगमा सहज, वैज्ञानिक र उपलब्धिमूलक रहेछ।”
प्रदेशका आठ जिल्लामध्ये हालसम्म महोत्तरीको गौरिडाँडा, सिरहाको लहान, सप्तरीको भारदह र बाराका निजगढ एवं पथलैयामा ‘सिसीटिभी विथ राडर गन’ जडान रहेका प्रनाउ भण्डारीले जानकारी दिए।
गत आर्थिक वर्ष २०७८/७९ का पछिल्ला चार महिना (२०७८ चैतदेखि २०७९ असारसम्म) को लेखाजोखा गर्दा त कारबाहीमा ८०४ र राजस्व सङ्कलनमा ३०१ प्रतिशतको वृद्धि भएको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७७/७८ मा ‘हैण्डहेल्ड राडर गन’ प्रविधि प्रयोगमा रहेका बेला दुई लाख ५९ हजार १८८ सवारीसाधन जाँच कारबाही सङ्ख्या र रु १९ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो। पछिल्लो आर्थिक वर्ष (अब गत आव) २०७८/७९ मा भने कारबाही सङ्ख्या दुई लाख ६४ हजार ३१० र राजस्व सङ्कलन रु २२ करोड ४४ लाख ४० हजार ५०० भएको कार्यालय अभिलेखको तथ्याङ्क छ। पछिल्लो वृद्धिमा ‘सिसीटिभी विथ राडर गन’प्रविधिको प्रयोग निकै सहयोगी भएको प्रनाउ भण्डारीको भनाइ छ।
‘सीसीटिभी विथ राडर गन’ले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने हुँदा त्यस्ता सवारीसाधन रोकेर आवश्यक सुझाव दिन र कारबाहीको दायरामा ल्याउन सहज भएको ट्राफिक प्रहरी बताउँछन्। गत आव २०७८/७९ मा कार्यालयले प्रदेशभरिका आठवटै जिल्लामा दुई हजार ८४९ सचेतना कार्यक्रम सञ्चालन गरेको र सो कार्यक्रमबाट तीन लाख ३९ हजार ९२८ जना सवारी चालक लाभान्वित भएका कार्यालयले जनाएको छ।
सडकमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनाका घटना हुने गरेका छन्। त्यसैले सचेतना कार्यक्रममा मोटरसाइकल चालकलाई नै बढी सहभागी गराइने गरिएको प्रनाउ भण्डारीको भनाइ छ। गत आव २०७८/७९ मा प्रदेशभरिमा पाँच हजार ७११ सडक सवारी दुर्घटनाका घटना दर्ता भएका जनाइएको छ। त्यसमध्ये ५० प्रतिशतभन्दा माथि मोटरसाइकल दुर्घटना नै रहेका छन्। यद्यपि पछिल्ला दिनमा जाँचमा कडाइ र कारबाही पनि बढाइँदै लगिएपछि तीव्र गतिमा हाक्ने प्रवृतिमा केही सुधार हुँदै गएको कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment