कपिलवस्तुका पूर्वमेयर सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

डिसी नेपाल
२४ साउन २०८३ १०:४९

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह शुक्रबारदेखि रहस्यमय ढङ्गले सम्पर्कविहीन भएका छन्। शुक्रबार बिहान तौलिहवास्थित आफ्नै निवासबाट निर्माणाधीन कृषि फार्म निरीक्षणका लागि निस्किएका सिंह अबेरसम्म घर नफर्किएपछि परिवार र सुरक्षा निकायले उनको खोजी कार्यलाई तीव्रता दिएका छन्।

पछिल्लो जानकारी अनुसार अनुसार पूर्वमेयर सिंह शुक्रबार दिउँसो करिब ३:१५ बजे रामराज पुल नजिकैको सीसीटीभी फुटेजमा देखिएका थिए। त्यसको केही समयपछि उनले आफन्तलाई टेलिफोन गरी ‘आफू जंगलमा बाटो बिर्सिएर अलपत्र परेको’ जानकारी गराएको पाइएको छ। सोपश्चात् उनीसँगको टेलिफोन सम्पर्क विच्छेद भएको थियो।

साँझ करिब ६ बजे मात्र घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएपछि तत्कालै खोजी अभियान परिचालन गरिएको थियो। खोजीका क्रममा उनी सवार लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटोसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्री भागमा पर्ने गोरुसिङ्गे (ढेकहरी) जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा फेला परेको छ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टका अनुसार हराएका पूर्वमेयरको खोजीका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘के-९’ युनिटबाट झिकाइएका तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा, नेपाल प्रहरीका ८० भन्दा बढी जनशक्ति, ५० भन्दा बढी सशस्त्र प्रहरी तथा सयौँ स्थानीय बासिन्दा सम्मिलित टोली जंगल क्षेत्रमा खटाइएको छ।

मोबाइलको कल डिटेल रेकर्ड तथा अन्य प्राविधिक माध्यमबाट समेत सूक्ष्म अनुसन्धान अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । पूर्वमेयर सिंह नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको अघिल्लो कार्यकालमा नगर प्रमुख निर्वाचित भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *