सुन्तला नर्सरीबाट मनग्य आम्दानी

डिसी नेपाल
५ साउन २०७९ १२:२१
48
Shares

गलकोट। बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन्। बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।

विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर रु चार लाख २० हजार आम्दानी गरेका हुन्। आचार्यले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए। स्थानीय प्रजातिका सुन्तलाका १५ हजार बिरुवा उत्पादन गर्दा आचार्यको प्रतिबिरुवा रु १८ लागत लागेको छ। १५ हजार बिरुवा उत्पादन गर्दा रु दुई लाख ७० हजार लगानी भएको आचार्य बताउँछन्।

सरकारी दररेटअनुसार प्रतिगोटा संस्थालाई रु २५ र व्यक्तिलाई रु ५० मा बेच्न मिल्ने भए पनि सोही दररेटअनुसार बिक्री गर्न नसकिएको आचार्यले बताए। उनले १० हजार बिरुवा रु २७ र अन्य तीन हजार बिरुवा गुणस्तर हेरेर रु ३५, रु ४५ र रु ५० दरले बिक्री गरेका छन्। आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैँची पकेट समूहले पाँच–पाँच हजार बिरुवा खरिद गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले दुई हजार ५०० बिरुवा खरिद गरेको आचार्यले बताए। उनको नर्सरीमा अझै दुई हजार बिक्री गर्न मिल्ने बिरुवा छन्।

अन्य ५०० बिरुवा व्यक्तिले खरिद गरेको आचार्यको भनाइ छ। जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थालिएको हो। उनको नर्सरीमा हिउँदमा बेच्नका लागि ५०० ओखर (बिजु) र एक हजार किवीका कलमी गरेका बिरुवा तयार भएका छन्। आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरुवा तयार हुँदै गरेको आचार्यको भनाइ छ। उनको नर्सरीमा आगामी वर्षका लागि सुन्तलाका एक हजार ५०० कलमी र ५०० कागतीका बिरुवासमेत बेच्नका लागि तयार हुने छन्।

लगाएको छोटो समयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी बिरुवाको माग बढ्दै गएको हुँदा विस्तारै बिजु बिरुवा कम गरेर कलमीमा जोड दिने आचार्य बताउँछन्। बिजु बिरुवाले लगाएको तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरुवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरुवा पर्न थालेको आचार्यले बताउँछन्।

करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र रु ५० लाख लगानी गरेका छन्। जडीबुटी सङ्कलनको काम गर्न थालेका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी सुरु गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *