मंकीपक्स, हैजा र कोभिडबारे एमालेले गरायो सरकारलाई ध्यानाकर्षण
काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन्।
२३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उनले यसबाट बच्नका लागि सरकारले कुनै कदम नचालेको आरोप लगाए।
विश्वभर १८ हजार १९४ जना मंकीपक्सका संक्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमानाकासहितका स्थानमा सावधानी नपनाएको बताए।
साथै मंगलबार बिहानसम्म काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उनको आरोप छ।
पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमण पनि बढ्दै गएको भन्दै उनले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताए। तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।







डिसी नेपाल








Facebook Comment