एउटै सुइबाट ४० जना बालबालिकालाई कोरोनाभाइरसको खोप लगाइयो

डिसी नेपाल
१२ साउन २०७९ १५:१३
44
Shares

काठमाडौं । मध्यप्रदेशमा एउटै सुईबाट ४० जना बालबालिकालाई कोभिड भ्याक्सिन दिएको घटना सार्वजनिक भएको छ । यस घटनाको अनुसन्धान भइरहेको छ । यो घटना मध्य प्रदेशको सागर जिल्लाको हो जहाँ एक विद्यालयमा बालबालिकालाई कोभिड भ्याक्सिन दिइँदै थियो ।

भारत सरकारको स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोभिड–१९ को खोपका लागि ‘एक सुई, एउटा सिरिन्ज, एकपटक मात्र’ को प्रोटोकल तोकिएको छ । भारतमा अहिलेसम्म कोरोना भ्याक्सिनको २ सय करोड डोज मानिसहरूलाई दिइएको छ।

एकल-प्रयोग डिस्पोजेबल सिरिन्जहरू भारतमा एचआईभी जस्ता रोगहरू फैलिनबाट रोक्नको लागि व्यापक रूपमा प्रयोग गरिन्छ। तर, अस्पतालमा एकै पटक प्रयोग हुने डिस्पोजेबल सिरिन्जको अभावमा एउटै सुई एकभन्दा बढी पटक प्रयोग भएको घटना पनि भएका छन् ।

बालबालिकालाई खोप लगाउने जितेन्द्र रायले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘मलाई स्वास्थ्य विभागबाट एउटा मात्र सुई दिइएको थियो र आदेश मात्रै पालना गरिएको थियो ।’

बालबालिकालाई खोप लगाउन आएका अभिभावकले यो कुरा उठाउदै विद्यालय प्रशासनमा गुनासो गरेका थिए । अधिकारीहरू विद्यालयमा पुग्दा जितेन्द्र राय त्यहाँ उपस्थित थिएनन् र उनको फोन पनि स्वीच अफ भएको बताइएको थियो ।

प्रदेश सरकारको स्वास्थ्य विभागले उनीविरुद्ध लापरबाही गरेको भन्दै मुद्दा दर्ता गरेको छ । यसैबीच खोप अभियानका लागि अत्यावश्यक सामग्री पठाउने अधिकारीमाथि पनि अनुसन्धान सुरु भएको छ । प्रतिपक्षी दल कांग्रेसले यस विषयमा राज्यका स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *