जिनपिङ र बाइडेनले ताइवान मुद्दामा एकअर्कालाई चेतावनी दिए

डिसी नेपाल
१३ साउन २०७९ १०:३३
68
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ । यस कुराकानीका क्रममा दुवै नेताले एकअर्कालाई ताइवानबारे चेतावनी दिएका छन् ।

बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङलाई अमेरिकाले ताइवानको स्थिति परिवर्तन गर्ने कुनै पनि एकपक्षीय कदमको कडा विरोध गरेको बताए। तर, उनले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि बताए ।

यसै क्रममा सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकैलाई जलाउने चेतावनी दिएका छन् ।

‘एक चीन’ नीतिअन्तर्गत अमेरिकाले ताइवानलाई कूटनीतिक रूपमा मान्यता दिँदैन। तर अमेरिकाले लोकतान्त्रिक रूपमा स्वशासित ताइवानलाई हतियार बेच्छ ताकि उसले आफ्नो रक्षा गर्न सकोस्।

चीन किन रिसाएको छ ?

अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ। भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ ।

न्यान्सी पेलोसी अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुन् । विदेश मन्त्रालयले उनले कुनै पनि यात्राको घोषणा नगरेको बताए पनि चीनले ताइवानको यात्रा गरे अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

ताइवान आफ्नो प्रान्त मध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ। अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *