दैनिक बढ्दै कोरोनाकाे ग्राफ : चौथो लहरको संकेत!
फाइल फाेटाे।
काठमाडौं। पछिल्लो साता नेपालमा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ। बिहीबार मात्र नेपालमा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधवार ५२४ जनामा संक्रमण पुष्टि भएकोमा भोलिपल्ट थप १८६ जामा बृद्धि भएको छ। नेपालमा अहिले ४२ सय ३६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ।
बुधवार र बिहीबारको संक्रमणको दर हेर्दा यो वर्ष कै उच्च संक्रमितदर हो। पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि नागरिकमा चौथो लहर आउन लागेको हो कि भन्ने त्रास पनि बढ्दै गएको छ।
चीनको वुहान शहरबाट सुरु भएको यो भाइरसले विश्व मानव समुदायलाई नै आक्रान्त बनाएको थियो। महामारीको रुपमा फैलिएको यो भाइरस अझै साम्य हुन सकेको छैन। पछिल्लो समय त कोरोनाको उद्गम स्थल वुहान शहरमा पनि लकडाउनको घोषणा गरिएको छ।
चीनको हुबई प्रान्तमा पर्ने वुहान शहरमा ४ जनामा संक्रमण देखिएपछि लकडाउन गरिएको हो। सन् २०१९ को डिसेम्वरमा वुहान शहरबाट नै यो भाइरस विश्वभरि फैलिएको थियो।
करिब १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित कोरोना परीक्षण गर्दै आएको छ। तर यता नेपालमा भने दिनहँु सयौँको संख्यामा संक्रमितको दर बढ्दै जाँदा पनि सरकारले यो विषयमा कुनै नीतिगत निर्णय सार्वजनिक गरेको छैन।
के भन्छन् विज्ञ ?
पछिल्लो समय दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दै गएपनि यसले बिकराल रुप लिन नसक्ने अनुमान विज्ञहरुको रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन पनि पछिल्लो समय दैनिक रुपमा कोरोना संक्रमितको दर बढेपनि यसले पहिलो र दोस्रो लहर जस्तो भयाभहक रुपमा आक्रान्त पर्न नसक्ने उनको अनुमान छ।
पुनका अनुसार यो भाइरस विश्वभरबाट पुरै अन्त्य हुन केही समय लाग्छ। नेपालमा पनि पछिल्लो समय देखिएको भाइरस ओमिक्रोन भाइरस कै उपप्रजाति भएकाले मानिसमा चाँडो सर्ने भएकाले संक्रमणको दर बढेको उनको भनाइ छ।
‘नेपालमा अहिले देखिएको संक्रमणमा मलाइ लाग्छ ‘ओमिक्रोन’ कै उपप्रजाति हो। यो भाइरस सामान्य रुघा, खोकी लाग्दा पनि छिटो फैलने भएकाले धेरै बिगबिगी देखिएको हो।
तर यो भाइरसबाट संक्रमित हुनेहरुलाई पहिलो र दोस्रो लहरमा भएको बिरामी जस्तो अफ्ठेरो पारेको छैन,’ पुनले भने, ‘यो भाइरसलाई पहिलो र दोस्रो लहरसँग तुलना गर्न चाहन्न।
यसको मतलब यसले केही पनि गर्दैन भन्ने होइन। तर पहिले आकस्मिक आएजस्तो अस्तव्यस्त पूर्वाधार पनि छैन। धेरै जनाले कोरोनाविरुद्धको खोप पनि हानिसक्नु भएको छ। उपचार पद्धतीमा पनि पहिले भन्दा धेरै सहजता बढेको छ।’
स्वास्थ्य मन्त्रालयको तयारी कस्तो छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी पनि पछिल्लो समय दैनिक रुपमा बढेको संक्रमितको दरले सरकार गम्भिर भएको बताउँछन्। केही महिना स्थिर रहेको संक्रमितको दर पछिल्लो समयमा उच्चरुपमा बढ्न थालेपछि अर्को रुपलिने हो कि भन्ने शंका र अनुमान बढेको डा.अधिकारीको भनाइ छ।
‘पछिल्लो एक साता बढेको संख्यालाई ग्राफमा हेर्दा पक्कै पनि उच्च गतिमा बढिरहेको छ। यो दरलाई हामीले गम्भिर रुपमा लिएका छौँ। त्यसकारण अहिले सरकारको ध्यान पनि रोकथाम गर्ने,संक्रमितको निगरानी गर्ने गरिराखेका छौँ। हामीले संक्रमितको उपचारमा कमी हुन नदिन र संक्रमित भएकालाई सहजरुपमा अस्पतालसम्म लैजाने विषयमा पनि थप छलफल गरिराखेका छौँ।’ अधिकारीले भने।
















Facebook Comment