करार र ज्यालादारी कर्मचारीको पेसागत सुरक्षा सुनिश्चित गर्न एमालेको माग
काठमाडौं। एमालेले सरकारी सेवामा कार्यरत सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागले शुक्रबार विज्ञप्ति जारी गरी सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत हजारौं कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख किरण गुरूङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ-‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्दछ।’
एमालेले देशको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्ने बताएको छ।
‘राज्य र जनताका बीचका सम्बन्धहरूलाई सेवा प्रवाहमार्फत सजीव राख्ने र कानूनी राज्यको प्रत्याभूति दिलाउने काम पनि यही संयन्त्रको हो। वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको,’ विज्ञप्तिमा भनिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment