बिदेश भन्दा बाख्रामै राम्रो कमाइ

डिसी नेपाल
२७ साउन २०७९ ७:३८
200
Shares

पाँचथर। खाडी मुलुकमा पसिना बगाएर जेनतेन मासिक ४० हजार रुपैयाँ कमाउने एक युवा घर फर्किएर बाख्रा पाल्न थालेपछि अहिले महिनाको ५० हजार रुपैयाँ कमाउन थालेका छन्। चार वर्ष साउदी र तीन बर्ष मलेसिया बसेका फिदिम-१ का योगेन्द्र बुढाथोकी अहिले फिदिममै राम्रो बाख्रा पालक कृषक बनेका छन्।

लामो समय विदेश बसेर खाडीमा पसिना बगाएका बुढाथोकीले बोयर बोकाबाट स्थानीय खरी जातका बाख्रामा क्रस गर्दै व्यवसायिक बाख्रा पालन सुरु गरेका हुन्। सुरुमै तीन लाख रुपैयाँ तिरेर १०० प्रतिशतको पियोर बोयर बोका खरिद गर्दै व्यवसायिक तर्फ अघि बढेका उनको बुढाथोकी बाख्रा पालन फर्ममा अहिले ७० वटा बाख्रा, बोका र खसी छन्।

घरमा बुबाआमाले २/४ वटा बाख्रा पाल्दै आएकोमा उनले बिदेशबाट फर्किर बाख्राको संख्या थपे। फर्म दर्ता गरे। अनि उन्नत घाँस रोपे। व्यवसायिक बन्न सुरुको वर्ष राम्रो मिहेनत गरेका योगेन्द्रले गत वर्षमात्र ३० वटा बोका र पाठी बेचे। बोयर क्रस बोका र पाठीको माग व्यापक छ । यो वर्षमात्र २५ वटा बिक्री गरेका बुढाथोकीको फर्ममा ५० देखि ८७ दशमलव ५ प्रतिशतसम्मका बोयर बर्णशंकर पाठापाठी उत्पादन भइरहेका छन्।

‘एक बोकाको ३० हजार रुपैयाँसम्म र पाठीको २५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको छु।’ बुढाथोकीले भने, ‘आगामी वर्षदेखि १०० प्रतिशत पियोर बोयर पाठापाठी उत्पादन हुदैछन्।’ पाँचथरको सदरमुकाम फिदिम बजार क्षेत्रमै रहेको उनको फर्ममा बाख्रा पालनको जानकारी लिन र बोयर बाख्रा हेर्न आउनेको भीड लाग्ने गरेको छ। उनी आफूले जानेजति सबै किसानलाई सिकाउने गरेको सुनाउँछन्।

झण्डै २० रोपनी जमिन छ बुढाथोकीको। त्यो जमिनमा धानखेती र गाई बाख्राका लागि उन्नत घाँस रोपेका छन्। स्मार्ट नेपियर, सुपर नेपियर, स्टाइलो, मेन्दोला, ज्वाइण्ट भेचजस्ता उन्नत घाँस र स्थानीय रैथाने घाँस आफ्नो जग्गामा रोपेका छन्।

अर्ध बँघुवा प्रणालीबाट बाख्रा पाल्ने उनी दिउसो ४ घण्टाजति जंगलमा लगेर बाख्रा चराउछन्। व्याएका र व्याउन लागेका माउ, साना पाठापाठी र बीउ बोका घरमै बाधेर घाँस खुवाउने गर्छन्। दैनिक ६/७ घण्टा खट्दा ५०/६० वटा बाख्रा पाल्न समस्या नहुने उनको अनुभव छ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले परम्परागत बाख्राको खोरलाई सुुधार गर्दै आधुनिक खोर निर्माण गर्न गत वर्ष केही रकम अनुदान पाएको बुढाथोकीले सुनाए। ‘अब मलाई बाख्राको उपचार र उन्नत घाँस खेतीको तालिम लिनुछ, त्यसको लागि विज्ञ केन्द्रमा अनुरोध गरिरहेको छु ।’ उनले बाख्रापालनमा विज्ञता हुनु पर्ने अनुभव सुनाए।

सुरुमा ३ लाख रुपैयाँ खर्चेर बोयर बोको किन्दा वरपर र घरबाट पनि राम्रो सपोर्ट नपाएका उनी अहिले वर्षमा ५ लाख रुपैयाँबढी कमाउन थालेपछि भने सबैले प्रशंसा गरेको बताउछन्। भन्छन्, ‘विदेश जानुभन्दा त यहीँ बाखा पाल्नु आमदानी र स्वास्थ्यको दृष्टिले अति उत्तम लाग्न थाल्यो । म अब बिदेश जाने युवालाई देशमै फर्किएर व्यवसाय सञ्चालन गर्ने सल्लाह दिन्छु।’

बुढाथोकीले अरु विषय सहज भए पनि बैंकहरुले कृषि ऋण नदिएको गुनासो पोखे। बैंकहरु धाउँदा हैरान हुँदा पनि किसानहरुले कृषि ऋण पाउन सकेका छैनन्। यो विषयमा स्थानीय सरकार र केन्द्र सरकारको ध्यान पुग्नु पर्ने उनको माग छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *