माथिल्लो दोर्दी ए निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत उत्पादन भएन

डिसी नेपाल
१ भदौ २०७९ १३:५४

लमजुङ। लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएकाे छ। सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेकाे छैन।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाकाे हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण सम्पन्न भइसकेको छ। असाेज २०७१ सालबाट निर्माण थालिएको याे आयोजनाले असाेजमसान्त २०७४ देखि व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकाे थियाे । तर पटक–पटक निर्माण कार्य प्रभावित हुँदँ निर्धारित समयमा पूरा हुन सकेन।

आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ। तर, राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन गर्न नपाइएको आयोजनाले जनाएको छ।

अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए। आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत उत्पादन गर्न मात्रै बाँकी रहेको वस्तीले बताए।

सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माणअवधि लम्बिँदै आएको हो। हाल आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पुर्‍याई विद्युत उत्पादनको तयारी भएको छ।

आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ। १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहेको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धन कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए)भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *