दुईजिब्रे मोदी र उनका नेपाली भक्तहरु

दामोदर नेपाल
१ भदौ २०७९ १४:१२

काठिमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो अहिले भाइरल भइरहेको छ। यो भिडियो करिब १८ वर्ष पुरानो हो। यसमा मोदीले एक टेलिभिजनलाई अन्तरर्वार्ता दिइरहेका छन्।

सन् २००४ मा भारतमा भएको आम निर्वाचनमा कांग्रेस आइले बहुमत प्राप्त गरेको थियो। त्यसपछि कांग्रेसकी अध्यक्ष सोनिया गान्त्रीलाई प्रधानमन्त्री बनाउने चर्चा चलेको थियो। तर, मोदीले त्यतिबेला सोनिया गान्धी विदेशी मूलकी भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउने कुराको विरोध गरेका थिए। यो भिडियोमा मोदीले किन सोनियालाई भारतको प्रधानमन्त्री बनाउनु हुँदैन भनेर बताएका छन्।

स्मरणीय छ, भाजपाले यसरी विरोध गरेपछि त्यतिबेला सोनिया गान्धी आफू प्रधानमन्त्री बन्ने प्रयासबाट पछि हटेर मनमोहन सिंहलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेकी थिइन्।

नेपालमा अहिले नागरिकता ऐन संशोधन गर्ने विधेयक संघीय संसदका दुवै सदनबाट पारित गरी राष्ट्रपतिकहाँ गएकोमा त्यो विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि अहिले यो अन्तरर्वार्ता चर्चामा छन्।

नेपालमा विदेशीलाई नागरिकता प्राप्त गर्न सहज हुने गरी नागरिकता ऐन संशोधन गर्न लागिएको भन्दै यसको तीव्र विरोध भइरहेको छ। वैवाहिक अंगीकृत नागरिकता समेत विवाहलगत्तै दिन नहुने र ७ वर्ष नेपालमा बसोवास गरिसकेपछि मात्रै त्यस्तो नागगरिकता जारी गर्ने व्यवस्था गरिनुपर्ने आवाज पनि उठिरहेको छ।

यही सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको यो अन्तरवार्ता चर्चामा आएको हो। भारत पहिलेदेखि नै नेपालको आन्तरिक मामिलामा आफ्नो पहुँच र पकड रहोस् भन्ने चाहन्छ।

यसका लागि उसले नेपालीसँग विवाह गरेर आउने महिलाहरुलाई तत्काल एक हातमा सिन्दूर र अर्को हातमा नागरिकताको वकालत त गर्छ नै। त्योभन्दा माथि भारतबाट नेपाल प्रवेश गरेर अस्थायी रुपमा बसोवास गरिरहेकाहरुलाई समेत नेपालको नागरिकता दिलाउने प्रयास भइरहेका छन्।

यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने वैवाहिक अंगीकृत नागरिकता दिनु त्यति गम्भीर विषय होइन जति गम्भीर विषय पछिल्लो संशोधनमा जन्मका आधारमा नेपाली नागरिकता पाएकाका सन्तालाई वंशजका आधारमा नेपाली नागरिकता दिने अवधि पछि सार्दै लगिएको विषय छ। र, नेपालको नागरिकता ऐन सधैं भारतको चाहना बमोजिम संशोधन हुँदै जानु अझै गम्भीर विषय हो।

नेपालको राज्य संचालकहरु भारतको अगाडि नतमस्तक हुन्छन् भन्ने कुरा कसैबाट लुकेको छैन। केपी ओलीको सरकार ढलाएपछि नयाँ सरकार गठन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘छिमेकीका लागि कम्फर्टेबल सरकार बनाउँछौं’ भनेको कुराले नै यो कुरालाई प्रस्ट पार्छ।

त्यतिबेला आम जनताले प्रस्ट बुट्टने गरी मुख फोर्ने प्रतिनिधि पात्र प्रचण्ड हुन् तर नेपालका कुनै पनि दलका शीर्ष नेता भारतीय प्रभावबाट अछुतो छैनन्। किनकि अहिले विरोध भइरहेको नागरिकता विधेयकसँग लगभग पूरै मिल्दोजुल्दो ऐन बनाउने गरी तत्कालीन केपी शर्मा ओली सरकारले पनि अध्यादेश जारी गरेको थियो।

फरक यत्ति हो-नेपालका राजनीतिक दलहरु आफू सत्तामा भए आफूले ल्याएको विधेयक वा अध्यादेशको समर्थन गर्छन् र यदि आफू प्रतिपक्षमा भए त्यसको विरोध गर्छन्। उनीहरुलाई प्रस्तावित कानुनको ‘कन्टेन्ट’ले भन्दा पनि आफ्नो ‘पोजिसन’ले फरक पार्छ।

नेपालका नेताहरु भारतको इच्छाअनुसार हाम्रो देशको कानुन बनाउन यतिसम्म उदार छन् कि उनीहरुलाई त्यही विषयमा भारतको नीति के छ भनेर बुझ्ने समेत फुर्सद छैन।

नागरिकता कानुनमै हेर्ने हो भने नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता पाउन निश्चित समय कुर्नु पर्दैन तर भारतमा त्यसरी भारतीयसँग बिहे गर्ने विदेशी महिलाले ७ वर्षसम्म प्रतिक्षा गर्नुपर्छ।

अर्थात नेपालीसँग बिहे गर्ने भारतीय महिलाले तत्काल नागरिकता पाउँछिन् तर भारतीयसँग बिहे गर्ने नेपाली महिलाले ७ वर्षसम्म नागरिकता पाउँदिनन् । नेपालको राजनैतिक नेतृत्वले भारतको चाहना अटेर गरेर अगाडि बढेको दुर्लभ र ऐतिहासिक घटना २०७२ सालमा भएको थियो।

त्यतिबेला नेपालको राजनैतिक नेतृत्वले भारतको दबाबका अगाडि नझुकेरै संविधान जारी गरेका थिए । त्यसलगत्तै भारतले नेपालमा नाकाबन्दी लगायो। भारतले नेपालीहरुले नै नाकाबन्दी गरेको भनिरह्यो तर खासमा नाकाबन्दी भारतले नै गरेको थियो।

र, त्यही समयमा मोदी सरकारकी तत्कालीन विदेशमन्त्री (हाल स्वर्गीय) सुषमा स्वराजले भारतको संसदलाई संशोधन गर्दै भनिन् ‘नेपालको अहिलेको संविधानअनुसार भारतीय महिलाले नेपालीसँग बिहे गरिन् भने नेपाली नागरिकता पाउँदिनन्।’

यो झुटो थियो। तर, स्वराजलाई यो झुटो हो भन्ने थाहा नभएको होइन उनले जानीजानी भारतीय एजेण्डा अगाडि बढाउन यस्तो बोलेकी थिइन्। राजनीति शास्त्र र कानुनको अध्ययन गरेकी र लामो समय भारतको सर्वोच्च अदालतमा कानुन व्यवसायी भएर काम गरेकी उनलाई कानुन र संविधान अध्ययन गर्न आउँदैनथ्यो र उनी हचुवामा बोलेकी हुन् भन्ने पत्याउन सकिने कुरा होइन।

लामो समय कूटनैतिक सेवामा रहेर भारतजस्तो देशको विदेश मन्त्रीको जिम्मेवारीमा रहेकी उनले नेपालको संविधानमा रहेको व्यवस्था बुझेकी थिइन् तर संसदमा उभिएर झुटो बोलिन्। किनकि उनी मोदी सरकारकी प्रतिनिधि थिइन्।

र, मोदी दुईजिब्रे छन् भन्ने कुरामा शंका गर्नु पर्दैन। हो, मोदी दुईजिब्रे छन्। अहिले भाइरल भइरहेको अन्तरवार्तामा मोदीले सोनिया गान्धीलाई प्रस्ट रुपमा विदेशी भनेका छन्।

विदेशीलाई भारतको प्रधानमन्त्री बनाउन हुँदैन भनेका छन्। भारतको संविधानमा विदेशी मूलका भारतीय नागरिक प्रधानमन्त्री बन्न नपाउने कुनै व्यवस्था छैन। तैपनि उनले सोनिया गान्धीलाई प्रधानमन्त्री बनाउन हुँदैन भने।

पहिले संविधान बनाउनेहरुले तत्कालीन समयमा यस्तो होला भन्ने नसोचेको तर्क गर्दै अब भारतले विदेशी प्रधानमन्त्री बन्न पाउने कि नपाउने भन्ने कुरा तय गर्नुपर्ने बताएका छन्।

तर, नेपालको सन्दर्भमा मोदी उनै पात्र हुन् जसले नेपालको संविधानमा अंगीकृत नागरिकता धारकहरुलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका उच्च पदमा जान प्रतिबन्ध लगाउने व्यवस्था गरिँदा विरोध गरेका थिए।

उनको भारतमा विदेशी मूलका कुनै पनि व्यक्ति सरकारको उच्च पदमा जानु हुँदैन तर नेपालमा भने पाउनुपर्छ भन्ने उनको तर्क थियो। नेपालको संविधानमा अंगीकृत नागरिकताधारीलाई सरकारको उच्च पदमा जाने बाटो खुला गर्नका लागि दबाब दिन उनले नेपालको संविधान जारी हुने मुखैमा आफ्नो दूत बनाएर तत्कालीन विदेश सचिव सुब्रमन्यम जयशंकरलाई पठाएका थिए। जयशंकरले नेपाली नेताहरुलाई दबाब दिएका पनि हुन् तर नेपाली राजनैतिक नेतृत्वले टेरेनन्।

अझ गजबको कुरा त मोदीले यही भाइरल अन्तरवार्तामा भनेका छन्-‘भारतीय सेनाका जवान वा कुनै अधिकारी, कूटनीतिज्ञ वा विदेश मन्त्रालयमा काम गर्ने कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग बिहे गर्न चाहेमा पहिले अनुमति लिनुपर्छ।

यदि उनीहरुले अनुमति पाइहाले भने पनि पछि यो ख्याल गरिन्छ कि उनीहरुले कुनै संवेदनशील पोर्टफोलियो नसम्हालुन्। उनीहरुलाई यस्तो ठाउँमा राखिन्छ कि देशको सुरक्षाको सवालमा उनीहरुको कुनै सम्बन्ध नहोस्।

यदि एउटा जवानलाई विदेशी पत्नी विवाह गर्न रोक छ भने के एउटी विदेशी महिलालाई देशको प्रधानमन्त्री बनाएर देशका सारा फाइल उनको अगाडि खोलिदिने?’ तर, मोदीको विदेशी विवाह गर्ने सन्दर्भमा यो दृष्टिकोण आफ्ना विपक्षीको हकमा मात्र लागू हुन्छ किनकि मोदी दुईजिब्रे छन्।

यसको उदाहरण हहुन् उनका अहिलेका विदेशमन्त्री सुब्रमन्यम जयशंकर। जयशंकरकी पत्नी जापानी हुन्। उनको नाम क्योको हो। मोदीले अन्तरवार्तामा भनेअनुसार यदि परराष्ट्र सेवामा कार्यरत कसैलाई विदेशी पत्नी विवाह गर्न अनुमति दिइए पनि पछि उनलाई संवेदनशील पोर्टफोलियो सम्हाल्न नदिइनुपर्ने हो। तर, जयशंकर त मोदीका प्रिय पात्र हुन्, उनीमा आदर्श कहाँ लागु हुन्थ्यो?

जयशंकर २००१ देखि २००४ सम्म चेक रिपब्लिकका लागि राजदूत थिए। त्यसपछि उनी पहिले सिंगापुर, त्यसपछि चीन र त्यसपछि अमेरिकाजस्ता शक्तिशाली देशहरुमा राजदूत बनेर गए। विश्वका सबैभन्दा शक्तिशालीमध्येका २ देश अमेरिका र चीनमा उनी कूटनैतिक मिशनको प्रमुख भएर गए र मोदीको प्रोटोकललाई फरक परेन।

त्यसपछि २०१५ को जनवरीमा उनी विदेश सचिव नियुक्त गरिए र यही कार्यकालमा उनी नेपाली नेताहरुलाई संविधान जारी गर्नबाट रोक्न मोदीको दूत बनेर आएका थिए।

यो कार्यकाल सकिएसँगै उनी २०१९ मा विदेश मन्त्री नियुक्त गरिए र अहिले सोही पदमा छन्। मोदी बोल्न सिपालु छन्। बोल्ने प्रभावशाली शैलीका कारण उनी झुटो बोलिरहेको पनि हत्तपत्त स्रोताले भेउ पाउँदैनन्।

उनी धेरै झुटो बोल्छन् र दुईजिब्रे कुराहरु गर्छन्। नेपालकै सन्दर्भमा उनको दोहोरो चरित्र छ । अगाडि नेपाललाई ‘छोटा भाइ’ भन्ने उनले वास्तविक रुपमा नेपाललाई आफ्नो ‘उपनिवेश’ ठान्छन्।

नेपाललाई उपनिवेश ठान्ने कुरामा त उनीमात्र नभइ भारतका हरेक सरकारको नीति एउटै छ। यो द्वैध चरित्र उनले आफ्नो राजनैतिक लाभका लागि धारण गरेका छन्।

समस्या यो हो कि नेपालको राजनैतिक नेतृत्वले उनको कुरा पत्याइदिन्छन्। मोदीले दोहोरो चरित्र अपनाए पनि आफ्नो देशको राष्ट्रियता र स्वाधीनताको सन्दर्भमा सम्झौता गर्दैनन्। यस विषयमा उनको स्पष्ट अडान छ।

मोदीका सबै कुरा पत्याइरहँदा नेपालको नेतृत्व भने उनीबाट यो कुरा सिक्न चुकेको छ। उनले आफ्नो देशलाई फाइदा हुने किसिमले कुरा गर्दा हाम्रा नेताले हाम्रो देशलाई फाइदा हुने नीति लिनुपर्ने थियो ।

तर, मोदीको भक्त नै भइदिने? उनको अनुयायी बनेर उनकै दर्शनलाई अगाडि बढाउने हो भने नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो भन्नुको के अर्थ रह्यो? छिमेकीसँग बराबरीको सम्बन्ध राख्ने हो उसैको भक्त बन्ने होइन। नेपाली नेताहरुले यो हनुमानगिरी कहिले छोड्लान्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *