साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…

डिसी नेपाल
९ भदौ २०७९ १२:४०
420
Shares

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो। साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए।

परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछि पछि कुदेकी थिइन्। करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए। घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ। केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो। उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *