हुँदा खाने र हुनेखानेका तीज

डिसी नेपाल
१० भदौ २०७९ १५:१७
200
Shares

काठमाडौँ। नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ।

तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ।

महिला अधिकारकर्मी निर्मला श्रेष्ठका अनुसार वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकारेका छन्। समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरकफरकरुपमा मनाउन थालिएकामा उहाँ चिन्ता व्यक्त गरे।

मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टीप्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेयपदार्थमा रम्न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन्।

“हुनेखाने वर्गले हँुदा खाने वर्गलाई सहयोग गर्नु भनेको समाजवादोन्मुख समाज वा राष्ट्रको परिकल्पना हो”, अगुवा नेत्री प्रतिभा सुवेदीले भने, “संस्कार र संस्कृति देखासिकी र छाडा चरित्रले मनाउनु हुँदैन, परम्परागत र सालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाउनुपर्छ”, उनले भने।

तीजको वास्तविकस्वरुप परिवर्तन भएको छ। संस्कृतिका जानकार ज्ञानकाजी मानन्धरले भन्नुभयो, “आफ्ना मौलिक पहिचान र परम्परालाई बिर्सेर तीज तडकभडक तथा रङ्गीविरङ्गीरुपमा देखिन थाल्नु संस्कृतिमाथिको बज्रपात हो।”

पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वनपखेराबाट गुञ्जिन्थ्यो। आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टीप्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ। आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरुले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ।

विश्वका हरेक देशका आआफनै संस्कृति/वेषभूषा तथा परम्परा हुन्छन्। मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन्। तिनीहरुको संरक्षण/सम्वद्र्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ। पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्छिन्।

तीज भाद्र शुक्लबाट सुरु भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरु भइरहेका छन्। जो संस्कृतिका नाममा विकृति हो। हुनेखाने वर्गले एकहप्तासम्म तीज मनाउँदै आएका छन्। हुँदाखाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन्।

शिक्षिका दुर्गा थापाका अनुसार हाम्रा आम ले मनाउने तीज र अहिले हामी जस्ता आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ । “पहिलेका आमालाई एक छाक मीठो मसिनो खान मुस्किल थियो, वर्ष दिनमा एकपटक माइत/मावला जान पाउँदा अति खुसी हुन्थे, राम्रो पहिरन मुस्किलले प्राप्त हुन्थ्यो, वर्ष दिनमा एकपटक माइतीतर्फका साथीसङ्गिनीलाई भेट्न पाउँदा अति खुसी हुन्थ्यौँ ।” ८२ वर्षीया महिला गोपिनी कार्कीले भने।

पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्दथ्यो । वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो। वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आफ्नो पतिलाई खुसी राख्नुपर्दथ्यो। पछि आफैँले गनुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.