मृत्युअघि सोनाली फोगाटको पेय पदार्थमा केमिकल मिसाइएको थियो – गोवा प्रहरी
काठमाडौं । भाजपा नेता तथा टिकटक स्टार सोनाली फोगाटको मृत्युमा गोवा प्रहरीले पत्रकार सम्मेलन गरेर नयाँ तथ्य सार्वजनिक गरेको छ ।
गोवा आईजी ओमवीर सिंह बिश्नोईले भने कि पुलिसले सीसीटीभी फुटेज जाँच गरेको छ। फुटेज हेर्दा कथित सुधीर सांगवान र उनका सहयोगी सुखविन्दर सिंह सोनाली फोगाटसँगै क्लबमा पार्टी गरिरहेको खुलासा भएको छ ।
आईजी ओमवीर सिंह बिश्नोईले पनि सीसीटीभी फुटेजमा एकजनाले सोनाली फोगाटलाई जबरजस्ती केही पदार्थ खुवाएको देखिएको बताए । प्रहरीको सोधपुछका क्रममा सुखविन्दर र सुधीरले जानीजानी पेय पदार्थमा केमिकल मिसाएर सोनाली फोगाटलाई दिएको बताए ।
सोनाली फोगाटको उत्तरी गोवाको अन्जुनामा २२ अगस्टमा मृत्यु भएको थियो। यसअघि सोनाली फोगाटको मृत्युको कारण हृदयघात भएको भनिएको थियो तर अब गोवा प्रहरीले यस मामिलामा भारतीय दण्ड संहिताको धारा ३०२ (हत्या) पनि थपेको छ ।
अगस्ट २२ मा सोनाली फोगाटसँगै सुधीर र सुखविन्दर गोवामा उपस्थित थिए। अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार सोनाली फोगाटको परिवारले अन्जुना पुलिस स्टेशनमा लिखित उजुरी गरेको थियो। यस उजुरीमा परिवारले सुधीर र सुखविन्दरले सोनालीको हत्या गरेको आरोप लगाएका छन् ।
चार पृष्ठको उजुरीमा सोनालीका दाइले हस्ताक्षर गर्दै सुधीर र सुखविन्दरले आफ्नी बहिनीको सम्पत्ति हडप्ने नियतले सोनालीको हत्या गरेको बताएका छन् ।
सोनाली फोगाट हरियाणाको फतेहाबादको भुथान गाउँकी बासिन्दा थिइन् । सोनाली फोगाट सन् २००८ मा भाजपामा प्रवेश गरेकी थिइन् । उनले आदमपुरबाट २०१९ हरियाणा विधानसभा चुनाव पनि लडिन्, तर कांग्रेस पार्टी नेता कुलदीप बिश्नोईसँग हारिन्।
राजनीति बाहेक सोनालीले हरियाणवी र पञ्जाबी फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी टिकटकमा निकै चर्चित थिइन् ।







डिसी नेपाल







Facebook Comment