अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने

डिसी नेपाल
१४ भदौ २०७९ २१:३९
32
Shares

कञ्चनपुर । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुरसहित ३३ जिल्लामा मनाइने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइन लागेको हो ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरिन्छ । गिद्धको महत्व, लोप हुनलागेको र संरक्षणको प्रयासबारे जनचेतना जगाउन पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए । “सङ्घको अगुवाइमा मात्रै ३३ भन्दा बढी जिल्लामा ६७ भन्दा बढी सामुदायिक संस्था, गैरसरकारी संस्था, विद्यालय, क्याम्पस, विभिन्न सरकारी निकाय तथा सञ्चारमाध्यमको संलग्नतामा दिवस मनाइने भएको छ”, उनले भने, “दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको गिद्ध राष्ट्रिय सचेतना दिवसबाट विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।”

उनका अनुसार सन् १९९० को दशकदेखि दक्षिण एसियामा गिद्धको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको छ । यो २३ वर्षको अवधिमा भारतमा डङ्गर गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिएको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा गरिएको सर्भेक्षणमा सन् २०१० मा ३५, सन् २०१३ मा ८२, सन् २०२१ मा २८ र सन् २०२२ मा १६ गुँड फेला परेको छ । कञ्चनपुरमा गरिएको सर्भेक्षणमा सन् २०१० मा एक, सन् २०२१ मा ५६ र सन् २०२२ मा एक सय १० वटा गुँड फेला परेको छ ।

“कैलाली र कञ्चनपुरमा डङ्गर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध र सुन गिद्धले प्रजनन गरेको तथ्याङ्क छ”, चरा विज्ञ डगौराले भने, “डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनको अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने गोब्रे गिद्ध दुर्लभ अवस्थामा रहेको छ ।”

कैलाली र कञ्चनपुरमा सात प्रजातिका गिद्ध पाइने गरेका छ । राज गिद्ध र खैरो गिद्ध नेपालमा हिउँदका बेला पाहुनाका रूपमा जाडो छल्न आइपुग्ने गर्दछन् । हिमाली गिद्ध नेपालको रैथाने भए पनि तराईमा जाडो महिनामा मात्रै आउने गरेको पाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *