नेपाली खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान
काठमाडौं । नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न उक्त अभियान आयोजना गरिएको हो ।
नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएसन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा आज २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो ।
नेपालमा उत्पादित अलैँचीलाई नेपालमा नै प्रयोग बढाउनका लागि उक्त अभियान आयोजना गरिएको सेफ्स एसोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाले जानकारी दिए।
नेपालका सामान्य होटलदेखि पाँचतारे होटलसम्म यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । विदेशबाट आयात हुने सुकुमेलभन्दा स्वदेशमा उत्पादन हुने अलैँची प्रयोगलाई जोड दिनुपर्ने अध्यक्ष लामाले बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का पाक प्रशिक्षक मोहन गजुरेलले सीटीईभीटीले नेपाली खानाको पाठ्यक्रम नै तयार गरेर अगाडि बढाएको बताउनुभयो । होमस्टे व्यवस्थापनको पाठ्यक्रमसमेत सीटीईभीटीले निर्माण गरेको उनको भनाइ छ ।
वरिष्ठ सेफ शीतल खनालले नेपाली खानाको प्रवद्र्धनमा नेपाली सेफहरुले काम गर्दै आइरहेको बताए । स्वदेशमा उत्पादित अलैँचीलाई स्वदेशमै प्रयोग गर्न यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment