नेपाली कांग्रेस नयाँ चरणको संघर्षमा प्रवेश गरेको छ : सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नयाँ चरणको संघर्षमा प्रवेश गरेको बताएका छन्।
सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै सिटौलाले पछिल्लो घटनाक्रमले पार्टीलाई नयाँ चरणको संघर्षमा प्रवेश गराएको बताए। उनले कार्यकर्तालाई धैर्यताका साथ अघि बढ्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताए।
उनले भने, ‘के नेपाली कांग्रेस फेरि एउटा नयाँ चरणमा प्रवेश गर्दैछ? संघर्षको एउटा नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने बोध भएको छ । तपाईंहरू निरन्तर अगाडि बढ्नुस्, हामी साथमा छौं।’
उनले नेपाली कांग्रेसको इतिहासमै नभएको विशेष घटनाान रुमलिएको दाबी गरे। उनले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र संसद् भवनमा आगजनी, तोडफोड तथा साङ्घातिक हमला हुनु गम्भीर विषय भएको बताए ।
‘नेपाली कांग्रेसको इतिहासमा कहिले पनि यस्तो घटना घटेको छैन । विशेष महाधिवेशनको नाममा केन्द्रीय कार्यसमितिलाई विघटन इतिहासकै नौलो भयो । साथै नेपालमा कहिले पनि सिंहदरबारमा, सर्वोच्च अदालतमा, राष्ट्रपति भवनमा, संसद् भवनमा आगो लागेको थिएन,’ उनले भने ।
उनले कांग्रेसका सभापति तथा कार्यकर्तामाथि समेत तोडफोड, आगजनी, लुटपाट र साङ्घातिक हमला भएको भन्दै यस्तो घटना विगतका कुनै पनि संघर्षका क्रममा नभएको बताए।
सिटौलाले विशेष महाधिवेशनपछि निर्वाचन आयोगले गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाए। उक्त निर्णय कांग्रेसको विधान, निर्वाचनसम्बन्धी कानुन तथा संविधानविपरीत रहेको उनको दाबी थियो।
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनका लागि बाटो खोलेको भन्दै उनले कांग्रेसले न्याय पाउनेमा आफूहरू पूर्ण आशावादी रहेको बताए।
सभापति शेरबहादुर देउवामाथि भएको साङ्घातिक हमलाको विषयमा पनि सिटौलाले आपत्ति जनाए । देउवा अस्पतालमा रहेको अवस्थामा पार्टीकै महामन्त्रीबाट उनलाई हटाउनुपर्ने अभिव्यक्ति आउनु आफूले बुझ्न नसकेको उनले बताए।
उनले कांग्रेसलाई एकताबद्ध बनाएर लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment