रूसले ग्यास आपूर्ति पूर्ण रूपमा ठप्प पारेपछि युरोपेली देशहरू आतंकित !

डिसी नेपाल
१६ भदौ २०७९ ११:२३
560
Shares

काठमाडौं । रुसले युरोपलाई ग्यासको आपूर्ति पूर्ण रुपमा रोकेको छ । रुसको सरकारी स्वामित्वको ग्यास कम्पनी ग्याजप्रोमले नर्ड स्ट्रिम ग्यास पाइपलाइन १ बाट आपूर्ति बन्द गर्दै पाइपलाइनलाई ठूलो मर्मत गर्नुपर्ने बताएको छ।

कम्पनीले नर्ड स्ट्रिम १ ग्यास पाइपलाइनबाट आगामी तीन दिनसम्म आपूर्ति बन्द हुने जनाएको छ । रुसले यस ग्यास पाइपलाइनमार्फत युरोपमा हुने आपूर्तिमा उल्लेख्य मात्रामा कटौती गरिसकेको छ । रसियाले पश्चिमी देशहरू विरुद्ध युद्धको हतियारको रूपमा ऊर्जा आपूर्तिहरू प्रयोग गरिरहेको आरोप अस्वीकार गर्दै आएको छ।

नर्ड स्ट्रिम १ पाइपलाइन १२०० किलोमिटर लामो छ र बाल्टिक सागरबाट जान्छ। पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर पूर्वी जर्मनीसम्म जान्छ। रुसका अनुसार यो पाइपलाइन मर्मतका लागि जुलाईमा १० दिनसम्म बन्द गरिएको थियो । यो अझै पनि आफ्नो परिचालन क्षमताको २० प्रतिशतमा सञ्चालन भइरहेको छ। रुसले खराब उपकरणका कारण यस्तो भएको बताएको छ । जर्मनी यस ग्यासको प्रमुख ग्राहक हो।

जर्मनीको ग्यास नेटवर्क नियामक प्रमुख क्लाउस मुलरले रुसले आगामी केही दिनमा आपूर्ति सुचारु गरेमा आफ्नो देश वर्तमान संकटबाट बाहिर आउने बताएका छन्। उनले भने, ‘शनिबारसम्म रुसबाट पुरानो आपूर्ति (२० प्रतिशत) पुनःस्थापना हुनेमा मलाई पूर्ण आशा छ । तर वास्तविकतामा यो हुन्छ कि हुँदैन कसैलाई थाहा छैन।

युरोपेली नेताहरूले रुसले ग्यासको मूल्य बढाउन आपूर्ति कटौती गरिरहेको बताएका छन्। पछिल्लो एक वर्षमा ग्यासको मूल्य ह्वात्तै बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *