३२ वर्षसम्म हिमनदीको बरफमा दबिएका व्यक्ति अहिले यस्तो अवस्थामा भेटिए
काठमाडौं । ३२ वर्षअघि बेपत्ता भएका एक जर्मन नागरिकको शव स्वीट्जरल्याण्डको हिमनदीमा फेला परेको छ । १९९० मा, २७ वर्षीय पर्वतारोही थोमस फ्लाम पर्वतारोहण गर्ने क्रममा अचानक हिमनदीबाट बेपत्ता भए। उनको धेरै खोजी गरियो तर केही भेटिएन । अब करिब ३२ वर्षपछि उनको शव हिमनदीबाट फेला परेको छ, जसलाई पहिले दुई आरोहीले देखेपछि जानकारी दिएका थिए ।
पर्वतारोहीहरूले शवको छेउमा पदयात्राका उपकरणहरू पनि फेला पारे। सूचना पाएलगत्तै त्यहाँको प्रशासनले शवलाई नियन्त्रणमा लिएको थियो । शवको अवस्था निकै नाजुक थियो । शवको डीएनए परीक्षण गर्दा यो शव जर्मनीका थोमसको भएको पुष्टि भएको थियो । स्वीस प्रहरीले यस मामिलामा हिमनदी साँघुरिदै गएका कारण गाडिएको शव माथि आएको बताएको थियो, जुन आरोहीहरुको नजरमा परेको थियो ।
पहिलो पटक शव देखेका पर्वतारोहीले स्विट्जरल्याण्ड टाइम्सलाई दिएको अन्तर्वार्तामा आफू आफ्ना साथीसँग स्टक जी ग्लेशियरको यात्रामा रहेको बताए । जहाँ उनले ढुंगामा केही रंगीन चीजहरू देखे। शंका लागेपछि उनी नजिक गएपछि पैदलयात्राका उपकरण र नजिकै एउटा शव फेला परेको थियो ।
आरोहीले शरिरमा लगाएका लुगा ८० को दशकको रहेको बताए । आरोहीले शव पूर्ण रूपमा ममीफाइड भएको बताए। शव फेला परेपछि उनीहरूले यसबारे प्रहरीलाई जानकारी दिँदै शवको सही स्थानसहितको फोटो पनि दिएका थिए । त्यसपछि तत्काल शव फेला परेको थियो ।
जर्मन पर्वतारोही थोमसले २९ जुलाई १९९० मा आफ्नी हजुरआमालाई एउटा पत्र लेखेका थिए। त्यसपछि अगस्ट १ मा उनले आमासँग अन्तिम पटक कुरा गरे। तीन दिनसम्म केही नभेट्दा बेपत्ताको उजुरी परेको थियो । धेरै खोजी गर्दा पनि थोमसको केहि भेटिएन। अब ३२ वर्षपछि शव फेला परे पनि बेपत्ता हुनुअघि के भएको थियो भन्ने खुल्न सकेको छैन ।
थोमस अचानक बेपत्ता भएपछि स्वीजरल्याण्ड र इटालीको प्रहरीले मिलेर खोजी सुरु गरेको प्रहरीले जनाएको छ । खोजी गर्न धेरै ठाउँमा खोजी अभियान चलाइएको थियो, हेलिकप्टरको सहयोग पनि लिइएको थियो । स्थानीय गाईडहरू पनि सेवामा खटिएका थिए। तर समय बित्दै जाँदा त्यो आशा कमजोर हुँदै गयो ।
यसैबीच, त्यही स्थानमा पुगेका पर्वतारोहीहरूको समूहले जे बताए त्यसपछि थोमसलाई भेट्ने आशा समाप्त भयो। यस क्षेत्रको हिमनदी मक्खनजस्तै नरम रहेको उक्त समूहले बताएको थियो । त्यसपछि थोमस ग्लेशियरमा गाडिएको अनुमान गरिएको थियो । खोजी अभियान पनि वर्षको अन्त्यसम्म बन्द गरिएको थियो। स्वीस प्रहरीका प्रवक्ताले यस मामिलामा ३२ वर्षअघि बेपत्ता थोमसको घटना पूर्णतया दुर्घटना भएको बताए । र अब थोमसको शवको डीएनए मेल खाएपछि यो मुद्दा बन्द भएको छ।







डिसी नेपाल







Facebook Comment