शेखरको रणनीति, देउवामाथि दवाब बढाउन ओलीसँग नजिक

डिसी नेपाल
१७ भदौ २०७९ १५:४१
468
Shares

काठमाडौं। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकको छ। गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल नै बनाएका छन्।

अहिले कार्यदल सिट बाँडफाँटको विषय जटिल बन्दै गएको छ। कांग्रेसभित्र आफूले १०० सिट लिएर बाँकी गठबन्धनमा आबद्ध दललाई दिनुपर्ने आवाज उठिरहँदा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ९० भन्दा कम सिटमा तालमेल गर्न लागेको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढिरहेको छ।

देउवाले नजित्ने सय सिट लिनु भन्दा जित्ने ८५ सिट लिएर भएपनि सिट बाँडफाँटलाई टुंग्याउनु पर्ने आफू निकट नेताहरु बताएपछि डा. शेखर कोइराला पक्षधर सशंकित बनेको छ।

पार्टीभित्र स्पष्ट बहुमतमा रहेका देउवाले महाधिवेशनमा ४० प्रतिशत मत पाएका कोइराला पक्षधरलाई बेवास्ता गर्दै अगाडि बढेपछि सशंकित बनेका नेता डा. कोइरालाले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरे।

दुई नेताबीच आगामी निर्वाचनको विषयमा केन्द्रित रहेर छलफल भए पनि ओलीसँगको भेट देउवामाथि दबाव बढाउने रणनीति अन्तर्गत भएको थियो। देउवाले गठबन्धन जोगाउने नाममा माओवादीसँग ‘आत्म समपर्ण’ गरेको आरोप लगाउँदै आएको कोइराला समूहले आगमी चुनावमा आफू पक्षीय नेतालाई टिकट नदिने आशंका गर्दै आएका छन्।

आफू पक्षीय नेताले टिकट नपाएको अवस्थाका विभिन्न विकल्पमा अध्यक्ष ओली र नेता कोइरालाबीच छलफल भएको थियो। स्रोतका अनुसार कोइरालाले ओलीलाई बहुदलीय प्रश्पिर्धामा सबै दल एक्ला एक्लै चुनाव लड्नुपर्नेमा जोड दिएका थिए भने ओलीले त्यसका लागि देउवालाई मनाउन आग्रह गरेका थिए। कोइरालाले आफूले ‘बरु दश सिट आओस्, कांग्रेसले रुखमा भोट हाल्न पाउनु पर्छ’ भनेको तर देउवाले नसुनेको गुनासो गरेका थिए।

गठबन्धन नगरी चुनावमा जाँदा यसअघि कै जस्तो नतिजा आउने भन्दै देउवाले पार्टीलाई जिताउन गठबन्धन गर्नु परेको स्पष्टिकरण दिँदै आएका छन्। तर कोइराला समूहले भने पार्टी हारे पनि कांग्रेसका कार्यकर्ताले रुखमा भोट हाल्न पाउनुपर्ने तर्क गर्दै आएको छ।

पछिल्लो केही समययता एमाले अध्यक्ष ओली र नेता कोइराला निकट नेताहरुमार्फत निरन्तर छलफलमा छन्। ओलीले आफू निकट नेता विष्णु पौडेलमार्फत कोइराला समूहसँग सम्पर्क राखेका छन्।

‘बिहीबार सार्वजनिक रुपमा भेट भएकाले मिडियामार्फत जानकारी भयो, तर यसअघि पनि दुवै पक्षका नेताहरुबीच अनौपचारिक छलफल भइरहेको थियो,’ कोइराला निकट एक नेताले भने, ‘शेरबहादुर देउवाले मनलाग्दी गरिरहे हामीले पनि केही विकल्प सोच्नुपर्छ भनेर एमालेसँग संवादमा छौं।’

कोइराला गठबन्धनमार्फत चुनाव लडेर कांग्रेस पहिलो पार्टी नै भए पनि पार्टी र देशले केही नपाउने ठहर गरेको छ। पार्टीभित्रको अर्को शक्तिलाई पेलेर अगाडि बढ्ने र फेरि आफू नै प्रधानमन्त्री बन्ने रहर पालेका देउवालाई रोक्नु पर्ने आवाज कोइराला समूहभित्र प्रखर बन्दै गएको छ।

ओली र कोइरालाबीच भएको बिहीबारको भेट देउवामाथि दबाव बढाउने रणनीति भएको हुन सक्ने बालुवाटारको बुझाइ रहेको छ। ‘उहाँलाई (शेखर कोइराला) देउवा माओवादीसँग मिल्दा म किन ओलीसँग मिल्न नहुने भन्ने लागेको हुन सक्छ,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘अहिले शेखर दाइले ओलीजीलाई भेटेर केही फकर पर्दैन, यो खाली प्रधानमन्त्रीमाथि दबाव बढाउने रणनीति मात्रै हो।’

गठबन्धन नगरी चुनावमा जाँदा यसअघि कै जस्तो नतिजा आउने भन्दै देउवाले पार्टीलाई जिताउन गठबन्धन गर्नु परेको स्पष्टिकरण दिँदै आएका छन्। तर कोइराला समूहले भने पार्टी हारे पनि कांग्रेसका कार्यकर्ताले रुखमा भोट हाल्न पाउनुपर्ने तर्क गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.